
सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते बोलाउने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले संसदका दुवै सदनको अधिवेशन साउन ३ गते आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निणर्य गरेको हो ।
प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाउन सिफारिस गर्ने निणर्य भएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाउँदै १ हप्ताभित्र अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो ।
राष्ट्रियसभाको पछिल्लो अधिवेशन भने गत असार १७ गते सुरु भएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार २८ गते अधिवेशन अन्त्य गर्नुभएको थियो ।
यस अतिरिक्त आजको बैठकमा कोरोना महामारी नियन्त्रणलगायतका विषयमा खोप व्यवस्थापनको विषयबारे समेत छलफल भएको मन्त्री कार्कीले बताउनुभयो ।