ज्ञानु घिमिरे , पाँचथर ।। सिमसिम पानी, सानो घरको भिजेको आगानमा खेलीरहेका कलिला बालिकाहरु । हेर्दाखेरी लाग्छ उनीहरु चार जना जुम्ल्याहा जन्मेका हुन् । जिल्लाको फागुनन्द गाउँपालिका स्थित एउटा गाउ जहाँ सूचना र सञ्चारको त्यति वास्था गरिन्न। सामान्य खेतीपाती गरि घर खर्च चलाइने गरिन्छ । उमेरले करिब ४० वर्ष पुग्न लागेकी (कविता विश्वकर्मा) नाम परिवर्तन का घरमा पाँच जाना बच्चाहरु छ्न् । जसमा चारजना छोरीहरु एउटै उमेरका लाग्छन् । उस्तै पोसाक लगाए उनीहरुको अनुहार ठम्याउन समेत मुस्किल पर्छ ।
२२ वर्षको उमेरमा बिबाह गरेकी कविताका बच्चाहरु वर्षेनी जस्तो जन्मिए । लगातार बच्चा जन्माउन बाध्य उनलाई परिवार नियोजनका साधनका बारेमा साथीभाइ बाट अलिअलि जानकारी नआएका होइनन् । तर, घर परिवारको डरले अस्पतालसम्म गएर औषधि ल्याउने आँट गर्ने सकिनन् ।
दुई छोरी पछि उनले बच्चा जन्माउन इन्कार गरेपनि परिवार र श्रीमान्को दबाबले चाहाना नहुँदा नहुँदै पनि बच्चा जन्माउनै पर्ने अवस्था भयो । तेस्रो छोरीको पालोमा त उनलाई छोरा नपाएको निहुँमा सासू ससुराले सुत्केरी अवस्थामा नै घरबाट निकालिदिए । दुई छोरी र हातमा सानो अर्की छोरी लिएर कविता माइती गएर बसिन् । केहि महिनापछि श्रीमान्ले कवितालाई घरमा ल्याए र परिवारबाट अलग राखे ।
परिवारबाट अलग भएपनि कवितालाई छरछिमेकी र आफन्तहरुले छोरो नभएको भन्दै नानाथरी अपनामले बोलाउने श्रिमानलाई अर्की ल्याउन दबाब दिने गरेपछि पुनः बाध्यताले कविता फेरि चौथो पटक गर्भवती भइन् । छोरीहरु कलिला, घरको आर्थिक अवस्था कमजोर भएपनि कवितालाई समाज र परिवारको लागि छोरा जन्माउनै पर्ने बाध्यता थियो ।
चौथो पटक पनि छोरी नै भएपछि कवितालाई झन् सकस पर्यो । नजिकैको अस्पताल गएर जन्मिएकी चौथी नानीलाई घरमा ल्याएका दिन त श्रीमान्ले खाना बनाएर दिए तर भोलिपल्ट छोरा नपाएको भन्दै सासू र ससुरासमेत मिलेर सुत्केरी अबस्थामानै कवितालाई कुटपिट गरे । श्रीमान घर छोडेर बेपत्ता भए । कविताले चौथो पटकको छोरीको न त नाम नै राख्न पाइन न त संस्कार अनुसार चोखिन नै पाइन् । केहि दिनमा माइती पक्षबाट आफन्त आएर उनको खानपिनको व्यवस्थापन गरिदिए । तर, उनका श्रीमान् कहाँ छ्न् केहि खबर भएन । उनले ती कलिला नानीलाई सम्हाल्दै गाउँमा जनबनी गरि घर खर्च चलाउन थालिन् ।
दुई वर्षपछि श्रीमान रितो हात घर फर्किए । कविताले कुनै सोधखोज गरिनन् । घरमा आएर गल्तीको पश्चाताप गरेपछि कविताको मनले उनलाई माफी दिनु नै राम्रो हुन्छ भन्ने ठान्यो । चार जना छोरीहरुको भविष्य उनीहरुको हातमा अल्झिएको कारण श्रीमानको हिंसा सहेर पनि उनलाई परिवार मिलाउनु नै थियो । तीन जना छोरीहरु स्कुल जान्थे । फर्केर आएपछि गाईबस्तु स्याहार्ने र खाना पकाउने काम गर्थे । कविता र उनका श्रीमान गाउँमा बनी गर्न जान्थे । कान्छी छोरी पिठ्युँमा बोकेरै कविता बनी गर्न जान्थिन् । पछाडि नानी बोकेर बनिबुतो गरेकी कवितालाई बेला बेला छोरा नपाएको भन्दै गाउँले तीखो वचन लगाउँथे । छोरीहरु पनि भाइको रहर गरेर आमासँग कुरा गर्थे । पतिले पनि बिस्तारै छोराको चहाना गर्न थाले ।
अन्तत कविताले अन्तिम सन्तान जन्माउने निधो गरिन् । उनको पाँचौं सन्तानको रुपमा छोरा जन्मियो । घरमा छोरा जन्मेको खुसीमा सबै परिवार भेला भएर रमझम गर्ने मिठोमिठो परिकार खाने क्रम करिब एक हप्तासम्म चल्यो । कविता पनि छोरो पाएकोमा खुसी थिइन् । तर, उनलाई रगत जाने समस्या भयो । अत्याधिक रगत जान थालेपछि छोरालाई बसेर दूध खुवाउनसम्म नसक्ने भइन् उनी । त्यसको उपचारका लागि उनी अस्पतालमै भर्ना हुनुपर्यो ।
कविता भन्छिन् ‘हामी छोरी मान्छेको जीवन अजीवकै हुने रहेछ । छोरा पाएको हर्कले रगत गएको पत्तो भएन । केहि दिन अस्पताल नगएको भए त ज्यान नै जाने रहेछ । लगातार सन्तान जन्माउँदा शारीरिक अवस्थानै कमजोर भएको रहेछ । बाबु दुई वर्षको हुँदासम्म औषधि सेवन गरेपनि दिनहुँ पाठेघरबाट रगत गइरहन्थ्यो । अहिले बाबू ३ वर्षको भयो । म खाना पकाउन बाहेक अरुकाम गर्ने सक्दिन ।
अहिले पनि महिनावारीको समयमा अत्याधिक रगत जाने गरेको छ ।’ ‘छोरी मान्छेको जिन्दगी अपजसे हुने रहेछ’ उनी भन्छिन् ‘छोरो नभएको निहुँमा आफन्तबाटै मेरो ज्यान जोखिममा थियो। छोरो पाएपछि तनाव हट्ला भन्ने सोचेको थिएँ तर झन् स्वास्थ्यमा समस्या आयो ।’
कविताका श्रीमान अहिले विदेश गएका छन् । छोरा जन्मिएपछि सासु ससुराले पनि राम्रो गरेका छन् । छोरीहरु स्कुल पढ्छन् । तर स्वास्थ्यको समस्या भने समाधान भइसकेको छैन उनको । तल्लो पेट पोल्ने, दुख्ने , रगत जाने समस्या बल्झिरहेकोले उनलाई कहिले काँही छिट्टै मरिन्छ झैं लाग्छ ।
आफुमाथि घरेलु हिंसा हुँदा त्यस बेलामा नडराएको भए हुने रहेछ जस्तो लाग्छ उनलाई । उनी भन्छिन् ‘त्यस बेलामा नडराएको भए, हिंसा नसहेको भए हुने रहेछ जस्तो बुद्धि अहिले भर्खर आउँदै छ ।’ अबका दिनमा अरु महिलाले पनि शिक्षित पुरुषबाट छोराकै लागि हिंसा व्यहोरेको सुन्न नपरोस् , विभेद गरेको देख्न नपरोस् जस्ता लाग्छ कमलालाई ।