कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ ।
सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआएपनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्न थालेको छ ।
‘डोटीबाट मोटसाइकलदेखि पैदल यात्रासम्म गरेर धनगढी पुगेर अब मजदूरी गर्न जादैछु’, कञ्चनपुरको पुर्वी गौरीफन्टाबाट भारतको मुम्बै जान हिडेका दिपेन्द्र खड्काले भने, ‘ यहाँ बसेर कोरोनाबाट त बाच्यौ तर भोकले मर्ने स्थिती बनेपछि मुग्लान जानुको विकल्प रहेन ।’
कोरोना कहरका बेला गत चैत्रमा स्वदेश फर्किएका खड्काले स्थानीय स्तरमा रोजगारीका कुनै सम्भावना नहुनु दुखःद कुरो भएको बताए ।
‘कृषि र पशुपालनमा लागेर गाउँमै बसेर जिविका चलाउने मन थियो’, उनले भने, ‘पारिवारिक अवस्था कम्जोर त्यो सम्भव भएन् ।’
गत चैत महिनामा यहाँको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको भीडभाड रहेपनि अहिले कोरोना कम हुँदा कामका लागि भारतको विभिन्न शहर जाने क्रम चलिरहेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य नै दशकौदेखि भारत नै हो ।