प्रेम गौतम सरकार गतिलो भएन र फोहोरी राजनीति हावी भयो भने त्यो देशका नागरिकहरुले पाउनु दुःख पाउँदा रहेछन ।
सुनेका समाचार, देखेका दृश्य र भोगेका थुप्रै अनुभुती छन् । खोल्न मन लागेको छ, यहाँ आफ्नै भोगाईको एउटा पोको यतिबेला ।
पाँचथर बहुमुखी क्याम्पसमा मेरो अध्ययनका शैक्षिक सत्रहरु पुरा हुदै थिए । यसो भनौ, अब छिट्टै म प्रमाण–पत्रधारी शैक्षिक बेरोजगार युवाको लामो पङ्तीमा आफूलाई पनि उभ्याउने मेसोमा थिएँ ।
देशमा जनयुद्ध थियो त्यस बेला । भोक, रोग, शोक, अशिक्षा, गरिबी, बेरोजगार,अशान्ति,अन्याय,अत्याचार लगायतका चौतर्फी समस्याले मुलुक सिकिस्त हुँदा सरकार निरीह थियो । म जस्ता अलिअलि पढे–लेखेका थुप्रै तन्नेरीहरु अन्यौल र अनिश्चितताको राँकोमा विबश जल्दै थिए ।मानव शास्त्रको बिद्यार्थी, त्यतिबेला अलिक बढी रङ्गकर्मतिर ढल्केको थिएँ । नेपाली नाटक लेखन, निर्देशन,अभिनय भनेपछि भोक–तिर्खै बिर्सिन सक्ने अम्मली थिएँ ।
त्यहिबेला पाँचथर नवामीडाँडाबाट पढ्न आएको सामान्य परिवारको मान्छे, पढाई खर्च भरथेग गर्न हम्मे थियो । केहि समयका लागि फिदिमका केहि बोर्डिङ्ग स्कुलहरुका छात्रा,छात्रहरुलाई पढाउने काम पनि गरे । मेरो युवा मनले आवश्यकता,आकांक्ष,रहर, सपना र खुशीको सगरमाथा भेट्न संघर्षको विषम यात्रातय गर्दै थियो । मनमा थोरै निरासा छाएको थियो । देश आन्तरिक लडाईको आगोमा ह्वारह्वार्ती बल्दै थियो । गाउँघरमा भाईचारा सकिएको थियो ।
शहरमा मानवता मासिएको थियो । कोही पनि आफ्नो घरमा सुरक्षित बस्न सक्ने अवस्था थिएन । मानवढाल र चन्दा आतंकको सबभन्दा ठुलो शिकार निमुखा र सर्वसाधारण जनता नै हुनुपर्ने । ठुलाबडा र हुनेखाने त सत्तापक्ष,विद्रोही दुवैतिरबाट बाँचिहाल्थे । देशमा व्याप्त अशान्ति, हिंसा, अन्यौलता र अनिश्चितताबाट आकुल–व्याकुल युवाहरुमा एउटा बिकल्प बैदेशिक रोजगार थियो ।
शिक्षित-अर्धशिक्षित,साक्षर-निराक्षर सबै आ–आफ्नो औकात र हैसियत अनुसार लाग्न थाले । संसारका बिभिन्न मुलुकका श्रम बजारमा पसिना पोख्न । त्यतिबेला हरेक नेपालीका लागि प्रवासीनु रहर भन्दा बढि बाध्यता थियो । म पनि त्यो साझा नियतिबाट अछुत रहन सकिन । विदेश जानु हुँदैन बरु आफ्नै देशमा पौरख गरेर बस्नु पर्छ भन्ने मेरो पुरानो मान्यताको बाँध भत्कियो ।
एकछिन त म अक्कमक्क परे । बिदेशको नाममा दार्जिलिङ भन्दा पर नगएको मान्छे । परिवारमा बुबा दाजु संग हतपत सल्लाह लिएर मलेसिया जाने सपना बुन्न थालें । तीन दिनपछि लगत्तै काठमाडौँ लागें । एक जना गाँउले दाइको पहलमा मेनपावर पुर्याइ दिए ।
काठमाडौँमा एजेन्ट (दलाली) पेशा गर्दै राजनीति गर्ने एकजना पाँचथरे ठुटे नेताको डेरामा पुगियो । मैले त देखेको मात्र, राम्रोसँग नचिनेको नेताले भोलिपल्ट कार्यालय समयको पहिलो प्रहरमै गंगबु स्थित एउटा म्यानपावर कम्पनीमा लगे । कम्पाउण्ड सहितको दुईतले अत्याधुनिक त्यो घरको भित्तामा टाँगिएको साइनबोर्डमा लेखिएको थियो “इमास्को मेनपावर ” हामी त्यही छिर्यौ ।
मेरै पैसामा चढेको ट्याक्सी भित्रबाट नेताले भनेका थिए, ‘यहाँ त अंग्रेजीमै कुरा गर्नु पर्छ है।’आउँछ होला नि ? म केही नबोली हाँसे मात्रै ।
‘मैले अस्ति भनेको भाइ उहाँ नै हो’ भन्दै अन्य मान्छेहरुको जिम्मा लगाए । मलाई त्यतिबेला सोचाइ आयो, मेरा छिमेकी दाइ र राजधानीबासी नेता र म्यानपावर कम्पनी सञ्चालकहरु बीच पहिल्यै मेरो बारेमा कुराकानी भइसकेको रहेछ । तिनीहरुले मलाई कतै अन्तर्वार्ता कक्षामा लानु परेन ।
कुनै औपचारिक प्रक्रियामा जानु परेन । म पास भएँ र केही दिनपछि त्यतिकैमा मलेसियाको UH industry मा पुगें । हाल त्यही कम्पनीमा निरन्तरता काम गर्दै बिदेशी भूमिमा नै जीवन बिताइरहेको छु ।
आजभोलि २५ वर्ष बितेको छ । त्यो दिन पछि पनि अहिलेसम्म मेरो देश यहि चपेटामा डुबि रहेको छ । सायद भाग्यले ठगेको देश भनु कि सतिले सरापेको देश भनौं । म जस्ता हजारौं युवा शक्ति श्रम बेच्न अर्कोको भुमिमा जानू पर्ने वाध्यता हो वा रहर ।
आफ्नो जन्मभूमि छोडेर जानु पर्ने त छँदैछ त्यही माथि आफ्नो घर-परिवार संगको बिछोडको वेदनासंगै कति नेपाली दाजुभाइहरु पराइ भुमिमा अस्ताएका छ्न् । सस्तो श्रम बेचेर ठुलो महलको सपना देख्नु सिवाय अरु के नै छ ।
समय अविरल छ दौडिरहेको छु । जिन्दगीको यात्रा कहाँ पुग्न थाहा छैन ।अहिले संम्झन्छु म जस्ता कयौं युवा मेरो जस्तै भोगाइमा छटपटाइ रहेका छन् । अनि मलाई लाग्छ “रोजगारीको चक्कर,मलेसियामा ठक्कर”मेरो यात्रा अब अन्त्य गर्दै आफ्नै मुलुक र परिवारमा रमाउने कोशिशमा छु ।
त्यसैले कोरोना अब विश्वबाट विदा होउ । हामी जस्ता प्रदेश पीडितहरुलाई घरपरिवार संग भेट्ने अवसर जुटाई देउ ! हाम्रो पर्खाइमा बुढा आमाबुबा र परिवारका सदस्य टुलुटुलु बाटो हेरिरहेका छन् । प्रदेशी छोराको अनुहार एक पल्ट हेर्न ……….
जन्म : फाल्गुनन्द गाउँपालिका -१,नवमीडाँडा,पाँचथर
अस्थायी ठेगाना: खुदुनाबारी, झापा
हाल: मलेसिया