कृषकले तयार गरेको जैविक विषादीले फौजी किरा नियन्त्रणमा मद्धत गर्यो

युद्धबहादुर बोहोरा : फाल्गुनन्द गाउँपालिकाका किसानले लगाएको बालीमा फौजीकिराको प्रकोप बर्सेनि फैलिएपछि आफैं जैविक तथा वानस्पतिक विषादी उत्पादन गर्न थालेका छन् ।

केही समय अगाडि पालिकाको कृषि विकास शाखाले विषादी बनाउने तालिम सञ्चालन गरेको थियोे ।

उक्त तालिममा सहभागी मध्ये वडा नम्बर ६ अन्तर्गत प्रगतिशिल कृषक समुहका अध्यक्ष लोकनाथ हुँमागाँईले तालिममा सिकेका कुरा आफ्नो समुहका कृषकहरुसँग सहकार्य गरि वानस्पतिक विषादी तयार गर्नुभएको छ ।

तालिमबाट सिकेका कुरालाई समुहमा सिकाएको र आवश्यक अनुसार सबैलाई सिकाउने उहाद्ँले बताउनुभयो । समुहले तयार गरेको विषादीले मकै बालीमा फैलिएको फौजीकिराको प्रकोप नियन्त्रण गर्न सफल भएको शाखाका प्रमुख सिर्जना बयलकोटीले जानकारी दिनुभयो ।

किसानले लगाएको विभिन्न बालीनालीमा समयमै औषधि लगाउन नपाउँदा र बर्सेनि फौजीकिराको समेत प्रकोपले नोक्सानी व्यहोर्नु परेपछि किसान चिन्तित थिए ।

आफैंले सिकेको विधि उपयोगी देखिएपछी प्रकोपबाट हैरान भएका उनीहरुमा हौसला थपिएको छ । यसको नियन्त्रण गर्न वानस्पतिक विषादी तयार गर्न शुरु गरेको उनीहरु बताउँछन् ।

अगुवा कृषक हुमागाँईले तालिममा सिकेको वानस्पतिक विषादी बनाउने विधि बमोजिम गाईको मुत्र २५ लिटरमा आधा किलोग्रामको दरले क्रमशः खोर्सानी, लसुन, नुन, निम, कालीझार, सुर्ती, सिस्नो लगायतलाई गाईको मुत्रमा आधा घण्टा पकाउने र सेलाएपछि छानेर एक लिटर विषादी रसलाई चार लिटर पानी थपेर विरुवाको फेदमा पुरै भिज्ने गरि लगाएको तीन दिनमा किरा मरेको बताउनुभयो ।

किरा मर्न थाकेपछि यसले प्रभावकारी काम गर्नेमा आफू विस्वस्त रहेको उहाले दावी गर्नुभयो ।

जैविक विषादी प्रयोग गर्दा बर्सेनि किराको प्रकोप नफैलिने साथै माटोको उर्वरा शक्ति समेत वृद्धि हुने शाखा प्रमुख बयलकोटीको भनाइ छ ।

आगामी दिनमा सबै किसानलाई यस विधिमा लाग्न प्रेरित गराउने र घरमै विषादी बनाउने विधि सिक्नुपर्ने बताउनुभएको छ ।

यस पालिकाकाका अधिकाँश नागरिक कृषि पेशामा आवद्ध रहेको हुँदा सकेसम्म कृषि क्षेत्रलाई प्राथमिकता दिंदै, प्रोत्साहन, अनुदान र आवश्यक सरसहयोग गरिने पालिका अध्यक्ष वीर बहादुर कुरुम्बाङले वताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार