२८ पुस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो ।

महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ ।

ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ ।

त्यसैले सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् ।

राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।

महाअभियोग प्रस्ताव पास होला ?

सुरुमा ट्रम्पविरुद्ध पेश भएको महाअभियोग प्रस्ताव पास गर्नुअघि उपराष्ट्रपति माइक पेन्सलाई कार्यवाहक राष्ट्रपति बनाउन डेमोक्रेटिक पार्टीले प्रयास गर्ने छ । माइक पेन्स रिपब्लिकन पार्टीका भएकाले कतिपय रिपब्लिकनहरुले त्यसलाई अस्वीकार गरेका छन् ।

यद्यपि डेमोक्रेटिक सांसदहरुले उनलाई मनाउन प्रयास जारी राखेका छन् र रिपब्लिकन सांसदहरुको पनि साथ पाउनेमा विश्वस्त छन् ।

महाअभियोग प्रस्ताव पास गर्न दुई तिहाइ बहुमत चाहिन्छ । डेमोक्रेटिक सांसदहरुले तल्लो सदनबाट महाअभियोग प्रस्ताव पास गर्ने आवश्यक संख्या आफूहरुसँग रहेको बताउने गरेका छन् ।

महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदनमा पनि दुई तिहाइ बहुमत चाहिन्छ । तर माथिल्लो सदनबाट महाअभियोग प्रस्ताव पास हुनेमा डेमोक्र्याट सांसदहरुले नै विश्वस्त नरहेको बीबीसीले लेखेको छ ।