कोरोना संक्रमणवाट थप २ जनाको मृत्युु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।

सप्तरीको महादेवा–६ घर भई हाल धरान– १८ मा बस्दै आएका ३० वर्षीय युवकको हिजो साँझ मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार पीसीआर परीक्षण गराउँदा सोमबार नै मृतकको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर थप उपचारका लागि कोभिड अस्पताल भर्ना गर्न नपाउँदै संक्रमितको मृत्यु भएको डा. श्रेष्ठले बताउनुु भएको छ ।

यसैबिच, पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई वीरगन्जस्थित नारायणी अस्पतालमा हिजो दिउँसो भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको हिजो साँझ मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुुभएको छ । योसँगै पर्सामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।