कोरोनाभाइरस संक्रमण विश्वव्यापीरुपमा निकै बढेको छ । संक्रमणमुक्त भएका देशहरुमा समेत पुन संक्रमण देखिन थालेको छ । केही देशमा भने एकपटक भाइरसलाई जितिसकेका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ ।

यसरी पुन संक्रमण देखिने व्यक्तिहरुमा झन् जटिल स्वास्थ्य समस्या आउनसक्नेसमेत वैज्ञानिकहरुले जनाएका छन् । गत अगस्ट २५ तारिखमा अमेरिकाको क्लिनिकल इन्फेक्सियस डिजिजेज् नामक जर्नलमा हङकङ निवासी एक ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण जितेको १४२ दिनको दिन पुन संक्रमण देखिएको प्रकाशन भयो ।

जर्नलले पुन संक्रमण देखिएका उनमा भाइरसको प्रवृत्ति फरक पाइएको र स्वास्थ्यमा जटिल समस्यासमेत देखिएको उल्लेख गरेको छ ।

अमेरिका, बेलायत, रुस, नेदरल्यान्ड्स र कोरियालगायतका देशमा संक्रमण पुनः दोहोरिएको घटनाहरु प्रकाशनमा आइरहेका छन् । ती संक्रमण पहिलो संक्रमणभन्दा भिन्न र जटिल पाइएको वैज्ञानिकहरुले जनाएका छन् ।

भाइरस नयाँ रुपबाट वा फरक प्रवृत्तिबाट अनुवंशिक परिवर्तन भयो भने त्यसले भयावह रुप लिनसक्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।