दसैँमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तह कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले गरेको एक अध्ययनमा २२ स्थानीय तह कोभिडको अत्यन्तै उच्च जोखिममा र २५ स्थानीय तह उच्च जोखिममा परेको जनाइएको छ ।

सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो । ट्र्याकिङबाट ४७ स्थानीय तह कोरोनाको जोखिममा परेको पाइएको हो ।

सिसिएमसीले कोरोनाको जोखिम क्षेत्रको मूल्यांकन गरी जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तर, ती क्षेत्रमा हाल कति संक्रमित देखिएका छन् भन्ने तथ्यांकको सूची भने बुझाएको छैन । स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई जोखिम र पाँच सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समीर अधिकारीका अनुसार मानिसहरूको आवतजावत गर्ने हिसाबले ती क्षेत्र बढी संक्रमित हुने देखिएको हो । ‘दसैँमा त्यहाँ गएकालाई पनि फैलाउने र अन्तबाट आएकाहरूले पनि फैलने देखिएको छ,’ उनले भने । यी स्थानीय तह बढी जनसंख्या भएका क्षेत्र हुन् ।

जनसंख्या कम भएको ठाउँमा सीमित व्यक्तिलाई मात्रै सर्ने सम्भावना भए पनि बढी जनसंख्या भएको ठाउँमा कसले कसलाई भेट्यो भन्ने थाहा नहुने चिकित्सकहरू बताउँछन् ।अहिले काठमाडौंमा दैनिक केस बढ्नुको प्रमुख कारण पनि कसले कसलाई भेट्यो भनेर पत्ता लगाउन नसक्नु नै भएको चिकित्सकको भनाइ छ ।

डा.अधिकारीले काठमाडौं मात्रै नभएर बाहिरका हटस्पट भनेर सूचीकृत भएका ४७ ठाउँका नागरिकले विशेष ख्याल गर्नुपर्ने भएको बताए ।

‘काठमाडौंजत्तिको सेवा–सुविधा ती क्षेत्रमा छैन, कोभिड संक्रमण काठमाडौंकै अनुपातमा बढ्ने देखिएको छ । त्यसैले स्वास्थ्यका मापदण्डलाई पूर्ण रूपमा पालना गर्न आवश्यक छ,’ अधिकारीले भने । नयाँपत्रिका दैनिकबाट