झापा र चितवनमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ। झापामा वृद्धा महिला र चितवनमा एक युवा पुरुषको मृत्यु भएको हो।

झापाको दमक नगरपालिका–७ की एक वृद्धा महिलाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ। विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया महिलाको मृत्युु भएको हो। केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उहाँको आज बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए। यसअघि दमक–१ का एक ५८ वर्षीय सङ्क्रमित पुरुषको पनि काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको थियो। यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ।

यस्तै, चितवनमा कोरोनाको सङ्क्रमणबाट आज एक पुरुषको मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना भएका उनमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान १०ः४४ बजे पुरुषको मृत्यु भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए। यससँगै चितवनका २३ जनाको कारोना सङ्क्रमणका कारण मृत्यु भएको छ।