नयाँकुराे समाचार ।। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष विरबहादुर कुरुम्बाङले गाउँपालिकामा सेवा प्रदान गर्ने क्रममा कर्मचारीले घुस मागेको प्रमाण ल्याए ५० हजार पुरस्कार दिने घोषणा गर्नुभएको छ । आफ्नो सेवा सुविधाबाट उक्त रकम प्रदान गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको हो ।

गाउँपालिका भित्र सेवा प्रदान गर्ने कुरामा कर्मचारिले घुस मागेको आरोप बेला बेला सुन्ने गरेको भन्दै उहाँले त्यसलाइ निरुत्साहित गर्न नागरिकहरु समेत स्वयं सचेत बन्नु पर्ने बताउनुभयो । यदि प्रमाण छ भने लिएर आउन नत्र आधारहिन कुरा गरेर कर्मचारिको चरित्र हत्या गर्ने प्रयास कसैले नगर्न समेत अध्यक्षको आग्रह छ ।

कर्मचारीमाथी यस्तो आरोप लागिरहने हो भने त्यसले प्रत्यक्ष रुपमा गाउँपालिकाको काममा प्रभाव पार्ने भएकाले नागरिकहरुलाई सेवा प्राप्त गर्ने क्रममा आफ्नो जिम्मेवारी पूर्ण रुपमा पालना गर्न समेत उहाँको आग्रह छ ।

उपभोक्ता समितिले तोकिए बमोजिमको काम नगर्ने अनि रकम फर्र्छयौट गर्ने बेलामा प्राविधिकलाइ प्रभावित पार्ने र आफै घुस लिएको आरोप लगाउने प्रचलन प्रति लक्षित गर्दै उहाँले भन्नुभयो “अबदेखी आरोप मात्र हैन प्रमाण लिएर आउनुहोस बरु पुरस्कार लिएर जानुहोस ।”