अशोज १, २०७७: अहिले (बिहीबार बिहान) देशका सबै प्रदेशका थोरै थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै स्थानमा रातिदेखि तथा कुनै ठाउँमा बिहानदेखि पानी परिरहेको हो।

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समते सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक- दुई स्थानमा भने भारी वर्षाको समते सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश ,प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।