पाँचथर : छात्रालाई जवरजस्ती करणी गरेको अभियोग लागेपछि पाँचथरको फिदिम नगरपालिका स्थित एउटा बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले यहाँ स्थित निलकण्ठ बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज शुव्वालाई पक्राउ गरेको हो ।

सोहि विद्यालयको छात्राबाशमा बस्दै आएकी साढे चौध वर्षकी ती छात्राले आफु माथि भदौ २० गते राती जवरजस्ती करणी गरेको भन्दै आज जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी थिइन । सोहि जाहेरीका आधारमा शुब्बालाई आज बुधवार पक्राउ गरी अदालतबाट म्याद थप्ने तयारी भइरहेको प्रहरी निरिक्षक रोमनराज अर्यालले बताउनुभयो ।

छात्राले प्रहरीमा दिएको जाहेरीमा गृहकार्य सिकाउने क्रममा प्रिन्सिपल शुव्वाबाट आफुमाथि करिब १५ दिन अगाडी देखि अनैतिक व्यवहार हुँदै आएको उल्लेख छ । प्रिन्सिपललाइ पक्राउ गरेसँगै पीडित छात्रालाई पनि स्वास्थ परिक्षण र उपचारका लागि पाँचथर अस्पतालमा भर्ना गरिएको छ ।