झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बिएण्डसी अस्पताल छ ।

बुधवार राति झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपछि विवाद सृजना भएको थियो । सो क्रममा प्रहरी माथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर सोही ठाउँमा ३८ वर्षीय आलम गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा वुधवार राति बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

आलमको मृत्यु भएसंगै उनका आफन्तले मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कार्वाही गर्नु पर्ने , धर्मनिरपेक्षताका आधारमा धर्म मान्न पाउनु पर्नेलगायतका ११ सूत्रीय माग राखेका हुन् ।

यसैबीच मृतक परिवारका मागका बिषयमा कामाटोलीमा छलफल शुरु भएको छ । छलफलमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह , उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी , अन्य जनप्रतिनिधि , पार्टी प्रतिनिधि , मृतक परिवार, मुस्लिम समुदायका अगुवलगायतको सहभागिता रहेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले छलफलका लागि सदरमुकाममा बोलाएका थिए । तर, मृतक परिवारले घटनास्थलमै छलफल हुनु पर्ने भन्दै सदरमुकाम जान अस्वीकार गरेका छन् ।

मुस्लिम समुदायले झापा गाउँपालिका–३ कामाटोली बजारमा अमरपथ सडक अवरुद्द गरेका छन । सडकमा काठका मुडा र टायर बालेर सडक अवरुद्द गरेका हुन । ११ बुँदे माग राख्दै बार्तामा बसेका मुस्लिम समुदायले प्रमुख जिल्ला अधिकारी बार्तामा बस्नु पर्ने माग राख्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । from:stv