तनहुँको भानु नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भानु नगर कमिटीले रु एक लाख एक हजार ११५ आर्थिक सहयोग गरेको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिकाले खडा गरेको कोषमा नेकपाले उक्त रकम सहयोग गरेको हो । नगर कमिटीका अध्यक्ष प्रेम थापाले भानु नगरपालिकाका प्रमुख उदयराज गौलीलाई उक्त रकम मंगलबार हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले खडा गरेको उक्त कोषमा विभिन्न राजनीतिक दल, सङ्घसंस्था लगायतले सहयोग गर्दै आइरहेका छन् । यस अगाडि नेपाली कांग्रेस भानु नगरसमितिले नगरपालिकालाई रु दुई लाख एक हजार १३ सहयोग गरेको थियो ।

उक्त कोषमा नगरपालिकाले रु ५० लाख विनियोजन गरेको थियो । यस्तै स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खर्च हुन नसकेको रु ५५ लाख बजेट पनि सोही कोषमा जम्मा गरिएको छ । रासस