काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि आगामी रणनीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज विज्ञसँग सामूहिक परामर्श गर्दै छन्। समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मंगलबार विज्ञहरुसँग छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको छ। विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ।

लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए। त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो।

सरकारले पछिल्लो पटक संक्रमणको अवस्था हेरेर आवश्यक निर्णय गर्ने अधिकार जिल्लामा रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई समेत अधिकार दिएको छ । सोहीअनुसार कतिपय जिल्लामा निषेधाज्ञासमेत लागु गरिएको छ ।

सरकारले लकडाउनलाई खुकुलो गरेसँगै गत २६ असारबाट निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली हटाइएको थियो । सरकारले १ भदौबाट लामो दुरीको सवारीसमेत सञ्चालन गर्ने निर्णय गरिसकेको छ । तर, जोखिम दिनदिनै बढ्दै जाँदा लामो दुरीका सवारी सुचारु गर्ने विषयमा समेत सरकार पछि हट्ने सम्भावना बढेको छ।

सरकारले कोरोना संक्रमित बढेपछि काठमाडौं प्रवेशमा पनि कडाइ गर्न थालेको छ। राति ७ देखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक अरूलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ।

उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा १० देखि १३ साउनसम्म गरी १० हजार ८ सय २७ नमुना संकलन गरेको थियो । त्यसमध्ये करिब ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

सोमबार मात्रै काठमाडौं उपत्यका ५१ जनामा संक्रमण देखिएकाे थियो । मन्त्रालयकाे तथ्यांकअनुसार नेपालमा कोभिडबाट संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। हालसम्म ५७ जनाको मृत्यु भइसकेको छ। from:stv