एक पटकको कुरा हो, युधिष्ठिरले भने– हे भगवान ! श्रावण शुक्ल एकादशीको नाम के हो ? व्रत गर्ने विधि तथा यसको माहात्म्य कृपा गरी भन्नुहोस ।

भगवान् मधुसूदनले उनका जिज्ञासा शमन गर्ने उद्देश्यले बताउनु भयो–यस एकादशीको नाम पुत्रदा हो । अब तिमी शान्तिपूर्वक यसको कथा सुन । यसलाई सुन्नाले मात्र वाजपेयी यज्ञको फल प्राप्त हुन्छ ।

द्वापर युगको आरम्भमा महिष्मति नामको एउटा नगरी थियो, जसमा महीजित नामका राजा राज्य गर्थे , तर पुत्रहीन भएका कारण राजालाई राज्य सुखदायक लाग्दैनथ्यो । जसका सन्तान छैनन, त्यसका निम्ति यो लोक र परलोक दुबै नै दुःखदायक हुन्छन भन्ने उसको मान्यता थियो । पुत्र सुखको प्राप्तिका निम्ति राजाले अनेक उपाय गरे तर राजाले पुत्रप्राप्ति गर्न सकेनन् ।

वृद्धावस्था आउन लागेको देखेर राजाले प्रजाका प्रतिनिधि बोलाए र भने–हे प्रजाजन ! मेरो भण्डारमा अन्यायले उपार्जन गरेको धन पाणि छैन । न मैंले कहिल्यै देवता तथा ब्राह्मणको धन नै हरण गरेको छु । कोही कसैको नासो पनि मैंले हरण गरेको छैन, प्रजालाई पुत्रसमान पालन पनि गरैकै हो ।

म अपराधीहरूलाई पुत्र तथा बन्धुवान्धव ठानेर दण्ड दिने गर्थे । कहिल्यै कसैसङ्ग घृणा पनि गरेको छैन । सबैलाई समान मानेको छु । सज्जनहरूको सदैव पूजा र सम्मान गरेको छु । यसरी धर्मयुक्त राज्य गर्दागर्दै पनि मेरा पुत्र छैनन् ।

अतः म अत्यन्त दुःखी छु, यसको के कारण हो ?

राजा महीजीतका यी कुरा सुनेपछि यी रहस्य पहिल्याउन मन्त्री तथा प्रजाका प्रतिनिधि वनतर्फ गए । त्यहाँ ठूला–ठूला ऋषि मुनि हरूको दर्शन गरे । राजाका उत्तम कामनाका पूर्तिका लागि कुनै श्रेष्ठ तपस्वी मुनिलाई खोज्न थाले । एउटा आश्रममा तिनले एकजना अत्यंत वयोवृद्ध धर्मज्ञ, ठूला तपस्वी, परमात्मामा निरन्तर मन लगाउने, निराहार, जितेन्द्रीय, जितात्मा, जितक्रोध, सनातन धर्मका गूढ़ तत्वलाई जान्ने, समस्त शास्त्रका ज्ञाता महात्मा लोमश मुनिलाई देखे, जुन मुनिको कल्प व्यतीत भएपछि एउटा रौं झर्यो।

सबैले गएर ऋषिलाई प्रणाम गरे । ती मानिसलाई देखेर मुनिले सोधे – हजुरहरू के कारणले पाल्नु भएको हो ? निस्संदेह म हजुरहरूको हित गर्नेछु । मेरो जन्म केवल अर्काको उपकारका निम्ति भएको हो, यसमा संदेह गर्नु पर्दैन । लोमश ऋषिका यस्ता वचन सुनेर सबै जनाले भने – हे महर्षे ! हजुर हाम्रा कुरा बुझ्न ब्रह्मा जत्तिकै समर्थ हुनुहुन्छ । अतः हजुरले हाम्रो यस संदेहलाई निवारण गर्नुहोस । महिष्मति पुरीका धर्मात्मा राजा महीजित प्रजाको पालन पुत्रवत् गर्दछन र पनि उनी पुत्रहीन हुनुपर्ने कारण के हो ।

उनीहरूले ऋषिलाई बिन्ती गरे– हामी उनका हौँ । अतः उनको दुःखबाट हामी पनि दुःखी छौ । हजुरको दर्शनले हामीलाई पूर्ण विश्वास सिर्जना भएको छ कि हाम्रो यो संकट अवश्यमेव हट्नेछ किनभने महान पुरुषहरूको दर्शनले मात्र पनि अनेक कष्ट दूर हुन पुग्छन् । अब हजुरले कृपा गरी राजाको छोरो जन्मने उपाय बताउनु होस् ।

यो अनुरोध सुनेर ऋषिले केही बेरका लागि नेत्र बन्द गर्नुभयो र राजाको पूर्वजन्मको वृत्तांत जानेर भन्न थाल्नुभयो– यी राजा पूर्वजन्ममा एउटा निर्धन वैश्य थिए । निर्धन भएका कारण उनले कतिपय कुकर्म गरे । यी त्यतिबेला एउटा गाउँबाट अर्को गाउँमा व्यापार गर्न जाने गर्दथे । एक पटक ज्येष्ठ मासको शुक्ल पक्षको द्वादशीका दिन मध्याह्नको समयमा जबकि उनी दुई दिनदेखि भोकै थिए, एउटा जलाशयमा पानी खान गए । त्यसै स्थानमा भर्खरै ब्याएको एउटा गाई पनि पानी खादै थियो ।

राजा त्यस तिर्खाएको गाईलाई हटाएर स्वयं आफू जलपान गर्न थाले, त्यसैले राजाले यो दुस्ख सहनु परेको हो । एकादशीका दिन भोकै बसेकाले ती अर्को जन्ममा राजा भए र तिर्खाएको गाईलाई जलपानका अवस्थामा अवरोध पुर्याएकाले पुत्र वियोगको दुस्ख सहनु परेको हो । यस्ता ऋषिका वचन सुनेर सबिले पुनः आफ्ना जिज्ञासा राखे– हे ऋषि ! शास्त्रमा पापको प्रायश्चित पनि उल्लेख गरेको हुन्छ । अतः जसो गरी हाम्रा राजाको यो पाप नष्ट हुन्छ, हजुरले त्यस्तो उपाय बताउनुहोस ।

लोमश मुनिले आज्ञा गर्नुभयो– श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भन्दछन्, त्यस दिन तिमीहरू सबैले व्रत गर्नुपर्छ र रात्रिकालमा जागरण समेत गर्नुपर्छ, त्यसो गरेमा यस राजाको पूर्वजन्मको सम्पूर्ण पाप नष्ट हुनेछन, साथै राजाले पुत्रप्राप्ति पनि गर्नेछन । लोमश ऋषिका यस्ता दिव्य उपदेश सुनेर मन्त्री सहित सारा प्रजा नगरतर्फ फर्किए र सबैले श्रावण शुक्ल पुत्रदा एकादशीको व्रत लिए र जागरण गरे ।

यस पछि द्वादशीका दिन यस व्रत र जागरणको पुण्यको फल राजालाई अर्पण गरिदिए । त्यस पुण्यको प्रभावले रानीले गर्भ धारण गरिन् र प्रसवकाल समाप्त भएपछि उनले एउटा असाध्यै तेजस्वी पुत्र जन्माइन् । त्यसैले हे राजन ! यस श्रावण शुक्ल एकादशीको नाम पुत्रदा एकादशी राखिएको हो ।

अतः सन्तान सुखको इच्छा हुने भक्तजनले यस व्रतलाई लिनुपर्छ । यसको माहात्म्यलाई सुन्नाले मात्र मनुष्य सबै पापबाट मुक्त हुनपुग्छ र यस लोकमा सन्तान–सुख भोगेर परलोकमा स्वर्ग प्राप्त गर्छ ।

सन्तान प्राप्तीको लागी मन्त्र ।
ॐ देवकीसुत गोविन्द वासुदेव जगत्पते ।
देही मे तनयं कृष्णा त्वामहं शरणां गतः ।। from:stv