सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त भएका छन्। डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई थुनामुक्त गरेको हो। सर्वोच्च अदालतको पत्र प्राप्त भएकाले कोइरालालाई थुनामुक्त गरिएको जेलर गणेश आचार्यले बताए।

कोइरालालाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। उच्चले पनि जिल्लाको फैसला सदर गरेको थियो। तर सर्वोच्चले कोइरालाको कैद घटाएको थियो। सर्वोच्चले जन्मकैदको मात्र सजाय हुने भन्दै साढे ८ वर्षमा झारेको थियो। सर्वोच्चले सजायमा भारी छुट दिएपछि उनी बिहीबार रिहा भएका हुन्।

यस्तो थियो घटना

डिआइजी कोइराला र श्रीमती गीता कोइराला (ढकाल) का बीचमा सम्बन्ध राम्रो थिएन। उनीहरु अलग्गै बस्दै आएका थिए। उनीहरुका २ छोरा छन्। गीता एकाएक बेपत्ता भइन्। छोरी बेपत्ता भएपछि माइती पक्षले खोजी गरे। तर पत्ता लाग्न नसकेपछि २०६८ पुस २९ गते रञ्जनले गीतालाई बेपत्ता पारेको दाबी गर्दै माइती पक्षले हनुमानढोकामा उजुरी दर्ता गराएका थिए।

तत्कालीन समयमा हनुमानढोकामा रञ्जनका साथी एसएसपी राजेन्द्र श्रेष्ठ थिए। बहालवाला डिआइजीले आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेपछि अनुसन्धान पनि निकै जटिल र दबाबपूर्ण थियो। प्रहरीसँग रञ्जनलाई तत्काल पक्राउ गर्न ठोस प्रमाण थिएन। तर रञ्जनलाई पक्राउ गर्न चर्को दबाव सिर्जना भएको थियो। तत्कालीन समयमा सञ्चार माध्यमले पनि यसलाई महत्व दिएर उठाएका थिए।

यही दबाबका बीच प्रहरीले रञ्जनलाई बयानमा बोलाएको थियो। उनी उपस्थित भएर हरेक पटक आरोप अस्वीकार गरिरहे। ‘श्रीमतीसित राम्रो सम्बन्ध थिएन, राति–राति एक्लै हिँड्ने, कतै गई होली,’ उनले यस्तै बयान दिने गरेका थिए। तर, माइती पक्षले भने रञ्जनले नै अपहरण गरेको जिकिर गरिरहेका थिए।

रञ्जनको वैवाहिक जीवन सुरुदेखि नै तनावग्रस्त रहेको थियो। त्यतिबेला उनीहरु अलग बस्थे। ठूला भइसकेका दुई छोराहरु आमासित बस्थे। यही शंकालाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढायो। रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण केही थिएन। त्यसैले सुरुमा प्रमाण जुटाउन प्रहरी केन्द्रित भयो।

गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राती साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान ५ बजेतिर फर्केको ‘क्लू’ प्रहरीलाई हात लाग्यो। त्यसपछि हरेक गतिविधिमाथि निगरानी बढाइयो।

२०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले फेला पारेको खबर प्रहरीले पायो। आफ्नै गाउँनजिक यसरी शव जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थालेका थिए। रञ्जन घटनास्थलमा दोस्रोपटक पुगेका थिए। उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका समेत थिए। तर, आफू सशस्त्रको डीआइजी भनेर उनी सजिलै छुट्न सफल भएका थिए।

रञ्जन घटनास्थल पुगेको खबर हनुमानढोकामा पुगेलगत्तै पक्राउ गर्न सर्कुलर गरिएको थियो। त्यहाँबाट फर्किने क्रममा नागढुंगाबाट पक्राउ गरियो। त्यसलगत्तै रञ्जनले अपराध गरेको स्वीकार गरे। शवको डिएनए टेस्ट गरियो। त्यसबाट पनि शव गीताकै भएको प्रमाणित भयो।

प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै कपडाले घाँटी थिचेर हत्या गरेको देखिएको थियो। हत्यापछि प्रमाण नष्ट गर्नका लागि शवलाई गाडीमा हालेर पालुङ पुर्‍याएको, पेट्रोल पनि घरबाटै लिएर गएको र राति जंगल छेउमा गाडी रोकेर शव जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पाइएको थियो। from:nepallive