देशभरको मौसम बिहीबार दिनभर सामान्य बदली रही केही स्थानमा पार्नी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव छ । यस्तै मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमाती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।