काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चीनसँगको युद्धमा गोर्खा रेजिमेन्टलाई प्रयोग नगर्न भारतसँग आग्रह गरेको छ। विप्लव समूहले भारतले सीमामा गोर्खा रेजिमेन्टलाई पठाउने तयारी गरिरहेको भन्दै यस्तो नगर्न आग्रह गरेको हो।

नेकपा महासचिव विप्लवद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतलाई चीनसँगको युद्धमा गोर्खा रेजिमेन्टलाई प्रयोग नगर्न आग्रह गर्दछ, त्यसैगरी नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गर्दछ।’

दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाको पक्षमा र अर्कोका विरुद्धमा युद्ध लड्नुपर्ने कुरा उचित नभएको पनि विज्ञप्तिमा जनाइएको छ। साथै यो असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तको बिरुद्धमा पनि रहेको उल्लेख गरिएको छ।

विप्लव नेकपाले युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न एवम् देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई सधैका लागि खारेज गर्न समेत माग गरेको छ। Source : Radio Nrn