खविन लुइटेल ।। फाल्गुनन्द गाउँपालिकाको सातौ गाउँ सभाको खुला सत्र सम्पन्न भएको छ । गाउँपालिको सातौ गाउँ सभामा आगामी आर्थिक बर्ष २०७७÷०७८ को निती तथा कार्यक्रम समेत प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष विर बहादुर कुरुम्बाङले गाउँपालिकाको आगामि बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । भोली विहानै बाट सञ्चालन हुने बन्द सत्रले आगामी बर्षको लागी बजेटको समेत टुङ्गो लगाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीले जानकारी दिनुभयो ।
यस अगावै गाउँपालिकाले वडाहरु तथा विषयगत शाखाहरुलाई बजेटको सिलिङ उपलब्ध गराइसकिएको र सोहि आधारमा वडा तथा विषयगत कार्यालयहरुले आ आफ्ना कार्यक्रमहरु तयार गरिसकेको बताइएको छ । भोलीकै बन्द सत्रबाट पालिकाबाट आगामी आ.ब. २०७७÷०७८ मा सञ्चालन हुने सम्पूर्ण कार्यक्रमको टुङ्गो लगाइने छ । कार्यक्रमको प्रमुख अतिथीको रुपमा प्रदेश सभा सदस्य सिता थेवेले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
शिक्षा, स्वास्थ्य र कृषिमा जोड दिइएको निति तथा कार्यक्रम ः
गाउँपालिका अध्यक्ष विरबहादुर कुरुम्बाङले पेश गर्नुभएको निति तथा कार्यक्रमले विद्यालयको श्रेणिकरण गरेर अनुदान प्रदान गर्ने, विद्यालयमा जंक फुड निषेध गर्ने, प्राविधिक शिक्षालयलाइ ब्यवस्थित गर्ने, विद्यार्थीको क्षमता प्रस्फुटन गर्ने अवसरहरु सृजना गर्ने जस्ता नितिहरु शिक्षामा लिइएको छ ।
यस्तै कृषिबाट दिगो आर्थिक अवसर सृजना गर्नको लागी आवश्यक पहल गर्ने निती गाउँपालिकाले लिएको छ । उत्पादनको लागी यान्त्रीकीरण, बजारको पहिचान गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । गाउँपालिका भित्र रहेका खाली जग्गाको पहिचान गरि त्यसको उपभोगको निती गाउँपालिकाले लिएको छ । उच्च मुल्यका बालीहरु अलैची, अकबरे, अदुवा लगायतलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ । कृषिमा देखिने प्रकोपको ब्यावस्थापन गर्दै कृषि पाठशाला जस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने गाउँपालिकाले बताएको छ । प्रदेश सरकारसंगको समन्वयमा शित भण्डार स्थापना, कृषकलाइ विउ मा अनुदान, कृषक भ्रमण र अवलोकन जस्ता कार्यक्रम निती तथा कार्यक्रममा समावेश गरिएको छ । १२ महिना नै च्याउ उत्पादनको तयारी गरिने गाउँपालिकाले जनाएको छ ।
यस्तै भौतिक पूर्वाधार तर्फ गाउँपालिका भित्रका सडकलाई बाह्रै मास सञ्चालन गर्ने, फाल्गुनन्द रिङरोड निर्माण सम्पन्न गर्ने, घुर्बिसे पञ्चमी बजारमा कर्बड हल निर्माण गर्ने, गेलिभञ्ज्याङ – बरडाँडा – च्याप्लुङ आङसराङ हुदै यासोक जोड्ने सडक प्रदेश सरकारको सहयोगमा बाह्रै महिना सञ्चालन गर्ने, गाउँपालिकाको प्रशासकिय भवन निर्माणको काम प्रारम्भ गर्ने, सातै वडामा खेलमैदान निर्माण कार्यलाइ निरन्तरता, गाउँपालिकामा सञ्चालनमा रहेका लघुजलविद्युत को मर्मत सम्भार गर्ने, पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने, लगायतको निती गाउँपालिकाले लिएको छ ।
यस्तै सुचना तथा सञ्चार नितीमा गाउँपालिकालाइ क्रमश ः प्रविधी मैत्री बनाउदै लगिने, मासिक, चौमासिक, बार्षिक प्रतिवेदन, कर शुल्क लगायतका नागरिकको प्रत्यक्ष चासो जोडिएका विषयलाइ अनलाइन मार्फत प्रकाशन गरिने निती लिइएको छ । कोरोनाको प्रभावलाइ मध्यनजर गर्दै विद्यार्थीको लागी आम सञ्चारका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप अगाडी बढाउने निति लिइएको छ । हेल्प डेस्क, डिजिटल नागरिक वडा पत्र लगायतका विषय सुचना तथा सञ्चार नितीमा समेटिएका छन् ।
पशु पालनमा बढावा दिदै पशुको उचित उपचारको ब्यवस्था, अण्डामा आत्मनिर्भर बनाउन आंशिक अनुदान, एकल महिलालाइ ब्यावसायीक पशुपालनको लागी अनुदान, पशुपक्षीको आहारा बनाउने मेसिनलाइ ७५ प्रतिशत अनुदान दिने, पशुपालनलाइ ब्यबस्थित गर्न प्रत्येक घरका पशुलाइ विमा गरी उक्त पशुलाइ सुत्केरी स्यहार भत्ता समेत दिइने निती गाउँपालिकाले लिएको छ ।
सुचिकृत बेरोजगार युवाहरुलाई रोजगारी दिन वडामानै बजेटको ब्यवस्था गरिने गाउँपालिकाले निती लिएको छ । गाउँपालिकाका अध्यक्ष विर बहादुर कुरुम्बाङले प्रस्तुत गरेको निती तथा कार्यक्रममा स्व. अध्यक्ष अमरकुमार नेम्वाङको नाममा बर्षेनी साहित्यिक कार्यक्रमको आयोजना गर्न बजेटको ब्यवस्था गर्ने समेत उल्लेख गरिएको छ । सिलौटी, लोहकिल, बत्तिसे झरना जस्ता पर्यटकिय गन्तब्यको उचित प्रवद्र्धन गर्ने, महागुरु फाल्गुनन्द संग प्रत्यक्ष सम्बन्ध राख्ने स्थानहरुमा महागुरुको शालिक पनर्माण गर्ने जस्ता निती गाउँपालिकाले लिएको छ ।
गाउँपालिका उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बेले स्वागत मन्तब्य राखे संगै सुरु भएको गाउँसभामा निती तथा कार्यक्रम पश्चात नेपाल पत्रकार महासंघ, विभिन्न राजनितीक दल, तथा अतिथीहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका अधिकाशं बक्ताहरुले निती तथा कार्यक्रमले अधिकांश क्षेत्र समेटेको भन्दै खुशी ब्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन गाउँपालिकाका योजना शाखा प्रमुख राजेन्द्र भटराइले गर्नुभएको थियो ।