पाँचथर ।। कुवेतबाट आएर फिदिमस्थित क्वारेन्टाइनमा बसेकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याएर भक्तपुरको होल्डिङ सेन्टर हुँदै पाँचथर पुगेकी महिलामा कोरोना संक्रमण देखिएको हो ।

फिदिम नगरपालिकाकी २५ वर्षीया महिलाको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना सङ्क्रमण देखिएको हो ।

उनलाई ३२ जेठदेखि पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । सोमबार स्वाब संकलन गरी पठाइएकामा आज रिपोर्ट आएको सुवेदीले बताए ।

पछिल्लोपटक विदेशबाट आएका चार तथा भारतबाट आएका ५३ जना गरी ५७ जनाको स्वाब परीक्षण गरिएकाेमा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । सङ्क्रमण पुष्टि भएकी ती युवतीलाई कोसी अस्पताल विराटनगर पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिए । पाँचथरमा पहिलोपटक जिल्लाभित्रै कोरोना भाइरस सङ्क्रमित भेटिएको हो । रासस