३१ जेठ २०७७ : नोबल कोरोना भाइरसको संक्रमणबाट सबै लिंग र उमेर समूहका आक्रान्त छन्। तर पछिल्लो ६ महिनामा विश्वभर यो भाइरसबाट संक्रमितहरूको तथ्यांकले सबैभन्दा बढी जोखिममा पुरुषहरू परेको देखाएको छ। २०१९ डिसेम्बरदेखि महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट करिब ७५ लाख मानिस संक्रमित भइसकेका छन्। यीमध्ये ३९ लाख उपचारपछि निको भएका छन् भने चार लाखले जीवन नै गुमाएका छन्। संक्रमितमध्ये ८२ प्रतिशत पुरुष छन् भने १८ प्रतिशत मात्रै महिला।

विभिन्न देशको तथ्यांक बेग्लाबेग्लै विश्लेषण गर्दा पनि हरेकजसो देशमा पुरुष नै बढी संक्रमित पाइएका छन्। चीनको अस्पतालमा भर्ना गरिएका संक्रमितमध्ये ७०.३ प्रतिशत पुरुष छन्। अमेरिकाको न्यूयोर्क शहरका सघन उपचार कक्ष (आईसीयु)मा भर्ना गरिएका संक्रमितमध्ये ६०.७ प्रतिशत पुरुष छन् भने मृत्यु हुनेमा पनि ६७ प्रतिशत पुरुष नै। इटलीकोे लम्बोर्डी सहरमा सघन उपचार कक्षमा भर्ना भएकामध्ये ८२ प्रतिशत पुरुष थिए। त्यस्तै बेलायतमा ६९ प्रतिशत, स्पेनमा ७९ प्रतिशत संक्रमित पुरुष छन्।

यो लेख तयार पार्दासम्म नेपालमा चार हजार ३६४ मा संक्रमण पुष्टि भएको छ जसमध्ये चार हजार ५५ जना (९२.९१ प्रतिशत) पुरुष छन्। संक्रमित मध्ये ११.९५ प्रतिशत पुरुष संक्रमणमुक्त भएका छन्। संक्रमितमध्ये २६.९५ प्रतिशत महिला संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त भएकाहरूमा महिला पुरुषको अनुपात ७०–३० छ। अर्थात् महिलाहरूभन्दा पुरुषहरू दोब्बरभन्दा बढी संक्रमणमुक्त भएका छन्।

हुन त नेपालमा महिलाको तुलनामा पुरुषहरू बढी समय घर बाहिर हुने, रोजगारीका लागि विदेश जाने, मद्यपान, धूमपान बढी गर्ने भएकाले उनीहरूमा बढी संक्रमण भएको हुनसक्छ। तर, विश्वभरि नै संक्रमित हुनेहरूमा महिलाको तुलनामा पुरुषको संख्या निकै नै बढी भएकाले यसको जीववैज्ञानिक कारणहरूको खोजी सुरु भएको छ। यस लेखमा त्यही जीववैज्ञानिक कारणहरूको चर्चा गरिनेछ।

जन्मिने व्यक्ति केटा वा केटी हुने भन्ने निर्धारण आमाको गर्भमा भ्रुण बन्ने पहिलो चरणमै हुन्छ। प्रजनन प्रक्रियामा आमा र बुवाको सेक्स क्रोमोजमको मिलनबाट भ्रुण बन्छ। बुवामा एक्स र वाई सेक्स क्रोमोजम हुन्छ भन्ने आमामा हुने दुवै क्रोमोजोम एक्स नै हुन्छ। बुवाको वाइ र आमाको एक्स क्रोमोजम मिलन भयो भने छोरा जन्मिन्छन्। बुवा र आमा दुवैको एक्स क्रोमोजमहरू मिलेर भ्रुण बन्यो भने छोरी जन्मिन्छन्। त्यसैले जन्मिने सन्तानको लिंग निर्धारणमा आमाको नभई बुवाको क्रोमोजमको भूमिका हुन्छ।

अक्स्फोर्ड विश्वविद्यालयका ‘इम्युनोलोजी’ (प्रतिरक्षप्रणालीशास्त्र)का प्राध्यापक डा. फिलिप गोउल्देरका अनुसार महिला र पुरुषको रोगसँग लड्ने क्षमताको भिन्नता यहीँबाट सुरु हुन्छ।
कुनै पनि बाहिरी हानिकारक जीवाणु आउनासाथ त्यसलाई चिनेर प्रतिरोध गर्न आवश्यक एन्टिबडिज निर्माण गर्ने काम प्रतिरक्षा प्रणालीको हो। नोबल कोरोना भाइरसलाई चिन्नसक्ने प्रोटिन एक्स क्रोमोजममा समाहित (इन्कोड) भएको हुन्छ।

तर एक्स क्रोमोजम महिलामा दुईवटा हुन्छ भने पुरुषमा एउटा मात्रै। त्यसैले कोरोना संक्रमण रोक्ने क्षमता वा उक्त प्रोटिनले अभिव्यक्त गर्ने प्रतिरोधात्मक क्षमता पुरुषमा स्वतः ५० प्रतिशतले कम हुन्छ। डा. फिलिप गोउल्देर कोरोना भाइरससँग मात्र नभई सबै रोगसँग जुध्ने क्षमता पुरुषमा भन्दा महिलामा बढी हुने विश्वास गर्छन्।

कोरोना भाइरसबाट हुने संक्रमणको दर महिला र पुरुषमा फरक गराउने अर्को कारक हो, ‘एन्जिओटेन्सिन कन्भर्टिङ इन्जाइम’। ‘एन्जिओटेन्सिन कन्भर्टिङ इन्जाइम’ (एसीई–२) मानव शरीरमा हुने एक प्रकारको इन्जाइम हो।

इन्जाइम शरीरमा हुने रासायनिक प्रतिक्रिया द्रुत गराउने उत्प्रेरक हो। ‘एसीई–२’ शरीरमा रक्तचाप नियन्त्रण, घाउचोट निको पार्ने र तरल पदार्थ नियमन गर्ने ‘रेनिन एन्जिओटेन्सिन अल्डोस्टेरोन प्रणाली’ (आरएएएस)को केन्द्रीय अवयव हो। लियोनार्द स्केग्सले सन् १९५६ मा पत्ता लगाएको यो इन्जाइमले रक्तनलीलाई खुम्चाई अप्रत्यक्षरूपमा रक्तचाप बढाउँछ। त्यसैले एसीई–२ अवरोधक (इन्हिबिटर) अधिकांश मुटु रोगको उपचारमा प्रयोग हुन्छ।

कोरोना भाइरसले मानिसमा संक्रमण गर्दा भाइरसको प्रोटिन यही ‘एसीई–२’ इन्जाइममा टाँसिएर शरीरको विभिन्न अंगको कोषमा पुग्छ। जसले गर्दा रगत र रक्तनली हुँदै अक्सिजन लिन जाने क्रममा फोक्सोमा संक्रमणको ढोका खोलिदिन्छ। ‘युरोपियन हार्ट जर्नल’मा प्रकाशित लेखअनुसार ‘एसीई–२’ महिलामा भन्दा पुरुषमा धेरै हुन्छ। यो पुरुषको फोक्सो, मुटु, अण्डकोषमा धेरै मात्रामा हुन्छ।

एसीई–२ अण्डकोषमा हुने भएरै महिलामा भन्दा पुरुषमा धेरै हुने नेदेरल्यान्ड स्थित ग्रोनिङेन मेडिकल विश्वविद्यालयका डा. इजिआह सामाले व्याख्या गरेकी छन्। त्यस्तै ‘जर्नल अफ भाइरोलोजी’मा प्रकाशित डा. होङ पेङ छियाको लेखअनुसार ‘एसीई–२’मा अहिलेको नोबेल कोरोना भाइरसको सतहमा भएको काँडा जस्ता आकारका ‘प्रोटिन स्पाइक्स’सँग जोडिने स्वरूप हुन्छ। यसरी पुरुषको शारीरिक संरचनाले नै कोरोना संक्रमणको जोखिम महिलामा भन्दा पुरुषमा बढी गराइदिएको छ।

हालै ‘साइन्स न्युज’मा प्रकाशित लेखअनुसार पुरुषमा कोरोना भाइरस संक्रमण तीव्र हुनुमा अर्को कारकलाई पनि जिम्मेवार मानिएको छ। उक्त लेखअनुसार एन्ड्रोजिन हर्मोनले पनि संक्रमण बढाउनुमा महत्वपूर्ण भूमिका खेल्छ। एन्ड्रोजिन हर्मोनले पुरुषमा टेस्टोस्टेरोन हर्मोन उत्पादन गर्न र शुक्राणु बनाउन मद्दत गर्छ। त्यही हर्मोनले कोरोना भाइरसलाई पनि कोषभित्र पस्न मद्दत गर्छ। टेस्टोस्टेरोन हर्मोनविना पुरुष प्रजननयोग्य हुन सक्दैन। चीन, स्पेन, इटाली र अमेरिकाको संक्रमणलाई हेर्दा एन्ड्रोजिन हर्मोन र कोरोना भाइरसको संक्रमणबीच परस्पर सम्बन्ध रहेको पाइएको छ।

एन्ड्रोजिनल हर्मोनले पुरुषमा मात्र हुने प्रोस्टेट ग्रन्थिमा ‘ट्रान्स्मेम्ब्ररेन प्रोटेयाज सेरिन २ इन्जाइम’लाई नियमन गर्छ। प्रोस्टेट ग्रन्थिले पुरुषलाई पिसाब फेर्न र शुक्राणुलाई जीवितै राख्न मद्दत गर्छ। तसर्थ ‘ट्रान्स्मेम्ब्ररेन प्रोटेयाज सेरिन २ इन्जाइम’ पुरुषमा बढी उत्पादन हुन्छ। ‘सेल जर्नल’मा प्रकाशित मार्कुस होफम्यानको लेखअनुसार कोरोना भाइरसको संक्रमण ‘ट्रान्स्मेम्ब्ररेन प्रोटेयाज सेरिन २ इन्जाइम’को सतहको झिल्लीमा पनि भर पर्छ। यो इन्जाइमको झिल्लीमा भाइरसको काँडाजस्तो प्राटिन संयोजन भई मानव कोषमा रहेको डीएनए भेट्छ। पुरुषलाई यही इन्जाइमका कारण पनि कोरोना भाइरस संक्रमणको जोखिम बढी हुन्छ।

इटलीका मोलिकुलर क्यान्सर विशेषज्ञ डा. आन्द्रे अलिमोन्तीका अनुसार त्यहाँ गरिएका केही प्रयोगमा एन्ड्रोजिन उत्पादन रोक्ने औषधी प्रयोग गरेका केही पुरुषहरू कोभिड–१९ का कारण अस्पताल जानुपरेको छैन। यसरी प्रोस्टेट सञ्चालन र नियमनमा पुरुषमा पैदा हुने ‘ट्रान्स्मेम्ब्ररेन प्रोटेयाज सेरिन २ इन्जाइम’ले पुरुषमा कोरोना संक्रमणको जोखिम बढाएको छ।

यी व्याख्याले बताउने एउटै तथ्य हो, सामाजिक–आर्थिक कारणहरूले मात्र नभई जीववैज्ञानिक कारणले पनि कोरोना भाइरस संक्रमणको जोखिममा महिला भन्दा पुरुष बढी छन्। अन्नपूर्ण पाेस्ट बाट