काठमाण्डौ ।। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले उनीहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको बताए ।

तर जुन सुकै रोगले मृत्यु भएपनि कोरोना संक्रमण देखिएपछी कोरोनाकै काँरण भन्नु पर्ने बाध्यता रहेको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ । कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण पाइएको पनि उल्लेख गरे । उनले ८५ प्रतिशत नेपाली भारतबाट आएकामा कोरोना संक्रमण देखिएको बताए ।

नेपालमा निको भएर घर फर्कनेको संख्या राम्रो रहेको उनले उल्लेख गरे । यस्तै विदेशका विभिन्न मुलुकमा रहेका १४ हजार ४ सय जना नेपालमा कोरोना संक्रमण भएको र १३ मुलुकमा १ सय २७ नेपालीको मृत्यु भएको पनि प्रधानमन्त्रीले जानकारी गराए । अहिले दैनिक ५ हजार परीक्षण भइरहेको बताउँदै स्वाव निकालेर परीक्षण गर्नुपर्ने संख्या ठूलो रहेकाले पीसीआर मेसिन, किटहरु विभिन्न देशबाट ल्याउन सरकारले पहल गरिरहेको प्रधानमन्त्रीको भनाइ रहेको छ ।