लामो समयको प्रतीक्षापछि शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य थालिने भएको छ । विश्वभर महामारिका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण रोजागरी गुमाएका एवं अन्य विभिन्न काम विशेषले विदेश पुगेर अलपत्र परेका नेपाली नागरिकलाई लिएर शुक्रबार २ वटा विमान चाटर्ड उडान भरि नेपाल आउने भएका हुन् ।

विदेशमा अलपत्र परी गम्भीर समस्यामा परेका नेपालीलाई तत्काल ल्याउने तयारी सरकारले गरेसँगै पहिलो चरणमा संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट एक-एकवटा विमान नेपाल आउन लागेका हुन् । अहिले युएई तथा म्यानमारबाट आफूहरूलाई औपचारिक रूपमा पत्र नआए पनि मौखिक जानकारी भने आइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागले जानकारी दिएको छ ।

अध्यागमन विभागका अनुसार पहिलो चरणमा शुक्रबार दुईवटा विमान नेपाली नागरिकलाई लिएर चार्टड उडान भरी नेपाल आउन लागेका हुन् । विदेशमा अलपत्र नेपालीहरूबाट पहिलो चरणमा लकडाउनका कारण रोजगारीका लागि विदेश गएर भिसा सकिएका, घर फिर्ती केन्द्रमा रहेका, आममाफी पाएका, ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका, भिसा अवधि सकिएर स्वदेश आउनकै लागि यसअघि नै चेकआउट भएका र आफन्त बितेर अन्तिम संस्कारमा आउनुपर्नेहरूलाई स्वदेश ल्याउने निर्णय सरकारले गरेको थियो ।

उडानमा सहभागी गराउन सरकारले उद्धारका १५ वटा प्राथमिकता तोकेको छ भने जसमध्ये सजायबाट आममाफी पाएका र घरफिर्ती केन्द्रमा रहेकालाई पहिलो चरणमा ल्याइने छ ।

यसअघि गत १९ जेठमा सरकारले विदेशमा अलपत्र नेपाली नागरिकलाई ल्याउन दैनिक १० वटासम्म हवाई उडान भर्ने तयारी गरेको बताएको थियो । जसका लागि अहिले सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनदेखि सम्पूर्ण स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप बलियो बनाइसकेको छ ।

विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विदेशबाट आउनेमा कोरोना भाइरस संक्रमण हुन सक्ने अवस्थालाई मध्यनजर गरी अहिले विमानस्थलको स्वास्थ्य सुरक्षा प्रबन्ध एकदमै मजबुद बनाइएको बताए । उनले लकडाउनका बेला पनि यस विमानस्थल व्यवस्थापनका लागि निरन्तर काम भइरहेको जानकारी दिए । उनले अहिले यस विमानस्थलबाट सामाजिक दूरी कायम गरी हवाई उडान सञ्चालनका लागि विभिन्न ठाउँमा मार्किङ र सरसफाइलगायत सबै तयारी पूरा भएको बताए । उनले सरकारले अब धमाधम विदेशबाट उद्धार गरी ल्याइने नेपालीलाई उद्धार गर्ने बताएसँगै यस विमानस्थल कार्यालयले पनि विमानस्थल सरसफाइ एवं व्यवस्थापनलाई थप बलियो बनाएको बताए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरी कायम गर्नेदेखि उडानका सबै प्रक्रिया व्यवस्थित गराउनेगरी भौतिक संरचना निर्माणको तयारी पूरा भएको बताउँदै महाप्रबन्धक केसीले भने, ‘अब विमानस्थलमा एकपछि अर्को यात्रु कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्नेछ । कर्मचारी र यात्रुबीच भौतिक रूपमा पनि उत्तिकै दूरी कायम हुनेछ ।’ यसले कोरोनाको त्रास कम नभएसम्म हवाई यात्रुको समय भने बढाउने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानमा अब साबिकको तुलनामा कम्तीमा एक घण्टाअघि नै विमानस्थल पुग्नुपर्ने अवस्था हुनेछ । गत ११ चैतदेखि जारी लकडाउन र व्यवसायिक उडान प्रतिबन्धकाबीच पनि यस विमानस्थलबाट अहिले ६ हजारभन्दा बढी मानिसले यात्रा गरिसकेका छन् ।

यसबीचमा विमानस्थलमा अत्यावश्यक भौतिक संरचना निर्माणको कामसमेत सम्पन्न गरिएको उनले जानकारी दिए । अब सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम थाल्नेछ । यस अवस्थामा विमानस्थल व्यवस्थापन अर्को चूनौतीपूर्ण क्षेत्र भएकाले अहिले आफू कोरोना संक्रमण फैलिन सक्ने जोखिमप्रति निकै सचेत भएको उनको भनाइ छ ।
अहिले सरकारले विदेशमा अलपत्र नागरिकलाई प्राथमिकताका आधारमा उद्धार गरिने बताएको छ । स्वेदश आउने व्यक्तिसँग उडानअघि कोभिड–१९ संक्रमण नभएको स्वास्थ्य परीक्षणको प्रमाण हुनुपर्ने नीति पनि सरकारले लिएको छ । सोही नीतिअनुसार सरकारले कोरनो भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको हो ।

जसका लागि सरकारले भारतबाहेकका मुलुकबाट नेपाली नागरिकलाई ल्याउन दैनिक प्रतिमुलुक एकका दरले १० वटासम्म हवाई उडानको अनुमति दिन सकिने निर्णय गरेको छ । सरकारले जारी गरेको स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई ल्याउन सहजीकरण गर्नेसम्बन्धी आदेशअनुसार कुनै मुलुकबाट यात्रु आउने अवस्था नरहे एक दिनमा १० वटा उडान नबढ्ने गरी धेरै यात्रु भएका मुलुकबाट थप उडान गर्न पाइने छ । स्वेदश आउने व्यक्तिसँग उडानअघि कोरोना संक्रमण नभएको स्वास्थ्य परीक्षणको प्रमाण हुनुपर्नेछ । यस्तो उडानमा सहभागी गराउन सरकारले उद्धारका १५ वटा प्राथमिकता तोकेको छ ।

जसमा सजायबाट आममाफी पाएका, घरफिर्ती केन्द्रमा रहेका र हाल नेपाल आउन अनुमति प्राप्त भएका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका र सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका छन् । यसैगरी, सरकारी सेवामा रही अध्ययन वा तालिममा गएका, अध्ययन समाप्त भएका विद्यार्थी, नेपाल आउनुपर्ने अवस्थामा रहेका अध्ययरत विद्यार्थी, परिवारिक पुनर्मिलनका लागि गएका, कम्पनीबाट रोजगारीसहित बिदा सुविधा पाएका, अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेका नेपाल आउनुपर्ने अवस्थाका तथा पर्यटक तथा व्यापारिक भिसामा गएकाहरू पनि प्राथमिकता पर्नेछन् ।