यस वर्षको १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस शुक्रबार लकडाउनका कारण कुनै कार्यक्रम पनि नगरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित

संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको छ । महामारीका कारण अधिकांश मुलुक पूर्ण एवं आंशिक लकडाउनमा भएकाले विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका छन् ।

महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । आइएलओका अनुसार विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पुर्‍याएको छ । अनौपचारिक क्षेत्रका कामदारसँग वैकल्पिक आय गर्ने अन्य माध्यम नहुने भएकाले ती कामदार र तिनमा आश्रित परिवारको बाँच्ने आधार नै गुमेको हो ।

रोजगारीमा परेको कोरोनाको प्रभाव निकै दूरगामी, व्यापक र अपूर्व रहेको आइएलओको ठहर छ । विश्वमा अहिले पारिश्रमिक न्यून हुने र रोजगारीको कुनै सुरक्षा नभएका होलसेल र रिटेल व्यापारको क्षेत्रमा ४८ करोड २० लाख मानिस काम गर्छन् । त्यसैगरी, म्यानुफ्याक्चरिङमा ४६ करोड ३० लाख कामदार छन् भने यातायात, स्टोरेज र सञ्चार उद्योगमा काम गर्नेको संख्या २० करोड ४० लाख छ ।

अनौपचारिक क्षेत्रका दुई अर्ब कामदारमध्ये अधिकांश उदीयमान एवं विकासशील मुलुकका हुन् । भारत, नाइजेरिया र ब्राजिलजस्ता विकासशील मुलुकको रोजगारी, आय एवं जनजीविकामा अनौपचारिक क्षेत्रको भूमिका महत्वपूर्ण छ । भारतको श्रमबजारमा अनौपचारिक क्षेत्रको हिस्सेदारी ९० प्रतिशतभन्दा धेरै छ । आइएलओले अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई यो संकटले गरिबीमा धकेल्न सक्ने खतरा औँल्याएको छ ।

आइएलओले साना उद्यम एवं अनौपचारिक क्षेत्रका कामदारलाई तत्कालै सहयोग गर्नु आवश्यक रहेको जनाउँदै सहयोगका लागि सम्बन्धित मुलुकलाई आह्वान पनि गरेको छ । उसले सबल रोजगार नीति एवं प्रभावकारी सामाजिक सुरक्षा प्रणाली ल्याउन पनि सुझाब दिएको छ । ‘करोडौँ मानिसका लागि काम नहुनुको अर्थ खानेकुरा, सुरक्षा एवं भविष्य केही पनि नहुनु हो । उनीहरूसँग कुनै बचत हुँदैन र कर्जामा पनि पहुँच हुँदैन । विश्वको वास्तविक मुहार यही हो । उनीहरूलाई हामीले अहिले सहयोग नगर्ने हो भने उनीहरू मर्नेछन्,’ आइएलओले भनेको छ ।

महामारीको प्रभावबाट रोजगारदाता पनि उत्तिकै थिलथिलो बनेका छन् । विश्वका कुल रोजगारदातामध्ये ५४ प्रतिशत अर्थात् ४ करोड ७० लाख रोजगारदाता महामारीले कडा मार पारेको क्षेत्रका छन् । आइएलओका अनुसार ४३ करोड ६० लाख उद्यम महामारीका कारण जोखिममा पुगेका छन् । क्षेत्रगत रूपमा सबैभन्दा बढी प्रभाव होलसेल तथा रिटेलमा परेको छ । यो क्षेत्रका २३ करोड २० लाख व्यवसाय आम्दानीविहीन बनेका छन् ।

त्यस्तै, म्यानुफ्याक्चरिङका ११ करोड १० लाख, होटेल एवं रेस्टुराँ पाँच करोड ५० लाख, रियल स्टेट र अन्य क्षेत्रका चार करोड २० लाख उद्यम आम्दानीविहीन बनेको आइएलओको प्रतिवेदनमा उल्लेख छ । यी क्षेत्रमा एक अर्ब २५ करोड कामदार काम गर्छन्, जुन विश्वको कुल कार्यबलको ३८ प्रतिशत हो ।

उद्योगका हिसाबले खुद्रा व्यापारको क्षेत्रका ७० प्रतिशत, होटेल तथा रेस्टुराँ (एकोमोडेसन तथा फुड सर्भिस) क्षेत्रका ६० प्रतिशत कामदारको अवस्था जोखिमपूर्ण बनेको छ । न्यून–मध्यम आयमूलक मुलुक र न्यून आय भएका मुलुकको अनौपचारिक क्षेत्रका कामदारको आय ८२ प्रतिशतले घटेको छ भने उच्च–मध्यम वर्गका मुलुकमा अनौपचारिक क्षेत्रका कामदारको आय २८ र आम्दानी उच्च भएका मुलुकका यस्ता कामदारको आय ७६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । रोजगारी तथा कार्यघन्टामा परेको प्रतिकूल प्रभावका कारण आय घटेको हो ।

भौगोलिक हिसाबले हेर्ने हो भने अफ्रिका र ल्याटिन अमेरिकाको कामदारको आय सबैभन्दा बढी ८१ प्रतिशतले घटेको छ । त्यसैगरी, युरोप र मध्यएसियामा ७० प्रतिशत घटेको छ । सबैभन्दा कम एसिया प्रशान्त क्षेत्रमा अनौपचारिक क्षेत्रका कामदारको २० प्रतिशत आम्दानी घटेको छ ।

त्यस्तै, कोरोनाको संकटयता विश्वव्यापी कार्यघन्टा पनि घट्दै गएको छ । यो वर्ष सन् २०२० को दोस्रो त्रैमासमा विश्वव्यापी कार्यघन्टा १० दशमलब ५ प्रतिशतले घट्ने आइएलओले जनाएको छ । जुन ३० करोड ५० लाख पूर्ण रोजगारीबराबर हो । आइएलओको यसअघिको प्रक्षेपणमा दोस्रो त्रैमासमा ६ दशमलब ७ प्रतिशत कार्यघन्टा घट्ने र १९ करोड ५० लाखबराबर रोजगारी गुम्ने उल्लेख थियो । महामारीको संकट विश्वव्यापी बनेको पहिलो महिनामा अनौपचारिक क्षेत्रका कामदारको आम्दानी ६० प्रतिशतले घटेको थियो । भौगोलिक हिसाबले अमेरिकामा सबैभन्दा बढी १२ दशमलब ४ प्रतिशत, युरोप र मध्यएसियामा ११ दशमलब ८ प्रतिशत र अन्य स्थानमा ९ दशमलब ५ प्रतिशतले कार्यघन्टामा कमी आएको छ ।

विश्वको ६८ प्रतिशत कार्यबल, ८१ प्रतिशत रोजगारदाता र ६६ प्रतिशत स्वरोजगार लकडाउन र कार्यस्थल बन्दबाट प्रभावित मुलुकमा छन् । स्वास्थ्यलगायतका अत्यावश्यक सेवाका सामाजिक क्षेत्रमा १३ करोड ६० लाख मानिस कार्यरत छन् । जसमध्ये नर्स, स्वास्थ्यकर्मी, सरसफाइलगायतका काममा ७० प्रतिशत कामदार महिला छन् ।

समस्यामा विदेशमा रहेका श्रमिक

लकडाउनको अवस्थालाई मध्यनजर गरी सरकारले सबै क्षेत्रका लागि राहत प्याकेजको घोषणा गरेको छ । तर, वैदेशिक रोजगारीमा गएका कामदारका लागि भने केही पहल भएको छैन । विदेशमा कम्पनी बन्द हुँदा कतिपय नेपाली श्रमिकको सडकमा वास भएको छ । केहीलाई रोजगारदाताले बेतलबी बिदा दिएका छन् भने कतिपयलाई टिकटसहित स्वदेश फर्कन बिदा दिइसकेका छन् ।

रासस, एजेन्सी