झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं २ को एउटा गाउँमा राहत बाँढ्न भनेर गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भुर्तेल तथा वडाध्यक्ष दिलिप श्रेष्ठ पुगेका थिए।

राहत बाँढेका बेला अध्यक्ष भुजेलले कसैलाई तस्वीर खिच्न दिएनन्। उनी भन्दै थिए, ‘फोटो खिचेर फेसबुकमा हालेर प्रचार गर्दा कोही बहादुर हुँदैन। बरु राहत पाउने जनताको बेइज्जत हुन्छ।’

उनले गरिबी जनताको इच्छा नभइ बाध्यता भएको बताए। उनले थप भने, ‘राहत लिने कसको रहर हुँदैन। बाँच्नका लागि बाध्यता हो।’ एउटा सानो राहतको पोको दिएको जस्तो गरेर फोटो खिचेर सामाजिक सञ्जाल तस्वीर हाल्दा धेरैको मानहानी भएको उनको जिकीर थियो।

बुद्धशान्ति गाउँपालिकाले मंगलबारदेखि सबै वडामा लक डाउनका कारण मजदुरी गर्न जान नपाएका विपन्न परिवारलाई खाद्यान्न राहत वितरण शुरु गरेको छ। त्यसैगरि झापाकै कचनकवल गाउँपालिकाले पनि राहत लिन आएका जनताको आकृति देखिने गरिको तस्वीर नलिन आग्रह गरेको छ।

इलामको रोङ गाउँपालिकाको ६ नं वडा कार्यालयले पनि विज्ञप्ति जारी गर्दै राहत लिन आउने सर्वसाधारणको कसैले पनि तस्वीर नखिच्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘राहत लिन आउने जनताको मानहानी हुने तथा ठेस पुग्ने भएकाले तस्वीर नखिच्न आग्रह गरिएको छ।’ -खबरमञ्च