
नयाँ कुरो समाचार ।। पूर्वका पत्रकाहरु भ्रामक र गलत समाचार रोक्ने अभियानमा जुटेका छन् । मिडिया एक्सनले यो अवसर जुटाएको हो ।
पाँचथर, इलाम र झापाका ४० जना पत्रकारलाई गलत समाचार कसरी फैलिन्छ ? त्यसको प्रभाव कस्तो हुन्छ र यसलाइ रोक्न पत्रकारले कसरी भुमिका निर्वाह गर्न सक्छ भन्ने विषयमा २ दिन सम्म कार्यशाला सञ्चालन पश्चात पत्रकारहरुलाइ जिम्मेवारी समेत दिइएको आयोजक संस्था (मिडिया एक्सन नेपाल) का अध्यक्ष लक्ष्मण दत्त पन्तले बताउनुभयो ।
अमेरिकन राजदुतावासको सहयोगमा पूर्वका पत्रकारहरुलाई चरणबद्ध रुपमा क्षमता विकास गराउने लक्ष्य राखिएको छ । जसबाट “मिथ्या” सामाग्री प्रकाशन र प्रशारणबाट पर्ने असरको बारेमा जानकारी गराउदै त्यस्ता सामाग्री सम्प्रेशणमा कमी ल्याउने र उत्तरदायि पत्रकारिताको विकास गर्ने लक्ष्य राखिएको आयोजक संस्था मिडिया एक्सन नेपालको भनाइ रहेको छ ।
पहिलो चरणको कार्यशाला इलाममा गत फाल्गुण १५ र १६ गते भएको थियो । कार्यशालामा नेपालका ३ वटा प्रदेशका ५ वटा जिल्लामा रहेको केही पत्रिका तथा अनलाइनलाइ अध्यन गरेर तयार पारिएको सामाग्रिको समेत विश्लेषण गरिएको थियो ।
कार्यशालामा “मिथ्या” फोटोहरुको पहिचान, समाचारमा फोटोको प्रयोग लगायतका विषयमा अग्रज फोटो पत्रकार चन्द्र शेखर कार्किले सहजिकरण गर्नुभएको थियो । गलत समाचारको पहिचान र रोकथाम विषयमा प्राध्यापक तथा अग्रज पत्रकार रामाकृष्ण रेग्मीले सहजिकरण गर्नुभएको थियो ।
पत्रकारिता माथि अविस्वास बढिरहेको बेलामा समसामयिक विषयमै पत्रकारको क्षमता विकासको कार्यक्रममा सहयोग गर्न पाउँदा खुसी लागेको अमेरिक राजदुतावासकी सुचना सुचना विज्ञ प्रेरणा मरासैनीको भनाइ रहेको छ ।
कार्यक्रम को दोश्रो चरण आगामी २ महिना भित्र पुन सञ्चालन हुने बताइएको छ । कार्यक्रमबाट थुप्रै नयाँ कुराहरु सिक्ने अवसर प्राप्त भएको सहभागी पत्रकारहरुले प्रतिकृया दिएका छन् ।