२०७६, १२ फाल्गुन: नेकपाको सचिवालय र सरकारले गेको हरेक निर्णयहरु विवाददित र आलोचित मात्रै हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच सोमबार बिहान बालुवाटारमा यस विषयमा छलफल भएको छ ।

काण्डै काण्डमा सरकार मुछिदै गएपछि त्यसको जनस्तरबाट भइरहेको विरोध र हिजो मात्रै पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई संविधान संशोधन गरेर भएपनि राष्ट्रियसभामा लाने र प्रधानमन्त्री बनाउने गरी गठन गरिएको कार्यदलका विषयमा छलफल भएको बताइएको छ ।

हिजो जन्मदिन मनाउन जन्मघर ताप्लेजुङ पुगेर फर्किएको भोलिपल्ट आफ्नो समेत आलोचना बढेपछि ओलीले प्रचण्डलाई बालुवाटार बोलाएर छलफल गर्नुभएको हो । शनिबार बसको सचिवालय बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गरेको थियो ।

कार्यदल गठन भएको समाचार सार्वजनिक भएपछि नेकपाभित्रै त्यसको चर्को विरोध भइरहेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने र राष्ट्रियसभा सदस्य संख्या समेत बढाउने गरी संविधान संशोधन गर्न नेकपाले अध्ययन कार्यदल गठन गरेको विषयमा नेकपा आलोचित बनेको छ ।

यहीबेला प्रधानमन्त्री केपी ओलीले आफ्नो जन्मोत्सव मनाउने क्रममा नेपालको नक्सा आकारको केक काटेपछि उनीप्रतिको राष्ट्रियता प्रस्ट भएको भन्दै सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

दुईबीच संविधान संशोधनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएपछि यसबारे चर्चा परिचर्चा भइरहेको छ ।

सेक्युरिटी प्रेस खरिदबारे निवर्तमान सञ्चार मन्त्रीले कमिसन डिल गरेको अडियो सार्वजनिकपछि नेकपा आलोचित बनिरहेको छ । नेकपाका दुई अध्यक्षबीच सोमबार बिहान भएको छलफलमा यीलगायतका अन्य विविध समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ ।

from:radionrn