बलात्कार प्रयासको मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ । काठमाडौँ जिल्ला अदालतले निर्दाेष रहेको फैसला सुनाएपछि महरा आजै डिल्लीबजार कारागारबाट रिहा हुनुभयो । न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दाेष रहेको फैसला सुनाएको हो ।

जिल्ला अदालतको फैसलामा महरालाई सफाइ दिनुका मुख्य दुई कारण उल्लेखित छन् । पीडित भनिएकी महिलाले महरा आफ्नो कोठामा नआएको बयान दिएको र महराले पनि महिलाको कोठामा गएको कुरा अस्वीकार गरेकाले महरालाई दोषी करार गर्नुपर्ने आधार नदेखिएको फैसलामा उल्लेख छ ।

यस्तै पीडित भनिएकी महिलाको कोठामा भेटिएका रक्सीका बोतल लगायतका सामग्रीसँग महराको औँठाछाप परीक्षणबाट तुलनात्मक रुपमा नमिलेको फैसलामा उल्लेख रहेको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिनुभएको थियो ।

असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा हुनुहुन्थ्यो । अदालतको फैसलापछि रिहा भएका महराको पक्षमा डिल्लीबजार कारागार बाहिर नाराबाजी भयो । महरा समर्थकहरुले एमसीसी खारेज गर भन्दै नाराबाजी गरेका थिए ।

महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो । तर महरा निर्दाेष ठहर भएपछि ढिलै भएपनि न्याय मिलेको उनका समर्थकहरुले बताएका छन् । महराको पक्षबाट वकालत गर्नभएका वरिष्ठ अधिवक्त रमनकुमार श्रेष्ठले महराविरुद्ध राजनीतिक प्रतिसोध साँधिएको आरोप लगाउनुभयो।

गज्जबको कुरा त के छ भने महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही पनि अदालतको फैसलाबाट खुशी हुनुहुन्छ । नेपालमा न्याय अझै जिवित रहेको महसुस आफुलाई भएको शाहीले बताउनुभयो ।

मानसिक समस्या भएका बेला आफूले बोलेका कुराहरुलाई लिएर राजनीतिक षडयन्त्र रचिएको उहाँको आरोप छ । महरा आफ्नो अभिभावक रहेको बताउँदै शाहीले पारिवारिक सम्बन्धमा यो घटनाले कुनै फकर नपार्ने दाबी गर्नुभयो ।

बलात्कारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएपनि उहाँको सांसद पद के हुने भन्नेबारे धेरैलाई कौतुहलता छ । तर अदालतबाट सफाइ पाइसकेपछि महराको सांसद पदमा लागेको निलम्बन स्वतः हट्ने कानुनविद दिनेश त्रिपाठीले बताउनुभयो । तर यो मुद्दा फेरि उच्च अदालतमा जाने भएकोले जिल्लाको फैसलालाई अन्तिम मान्न नहुने उहाँको भनाई छ ।

महरा प्रकरणमा जिल्ला अदालतको फैसलाले मुलुकमा ‘बलात्कार’ शब्दलाई लिएर नयाँ बहस निम्त्याएको छ । कतिपयले कानुनमा उल्लेखित बलात्कारको परिभाषामाथि नै प्रश्नहरु उठाइरहेका छन् । समाजमा बलात्कार मुद्दाको दुरुपयोग बढ्न थालेका बेला यसबारे थप बहसहरु हुनुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।

from: radionrn