केही दिनअघि सिन्धुपाल्चोकमा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको भनिएका बिरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ।

जुगल गाउँपालिकाको गुम्बा गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएको भन्दै गाउँपालिकाले मन्त्रालयमा पत्राचार गरेपछि स्वास्थ्य मन्त्रालयले नमुना परीक्षण गरेको थियो। ९ जनामा गरिएको नमुना परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएको मन्त्रालयका सह प्रवक्ता सागर दाहालले जानकारी दिए।

‘सिन्धुपाल्चोकमा देखिएको समस्या कोरोना भाइरस होइन। ९ जनामा गरेको परीक्षणको रिपोर्ट आइतबार प्राप्त भएसंगै कोरोना नभएको पुष्टि भयो,’ स्वास्थ्य खबरसँग सहप्रवक्ता दाहालले भने।

गाउँपालिकाको पत्राचारपछि मन्त्रालयले भने कोरोना भाइरस नभएको बताएको थियो तर पुष्टि भने भएको थिएन। गुम्बा गाउँमा देखिएको समस्या कोरोना नभई मौसमी फ्लु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले उल्लेख गरे।

अहिले नयाँ बिरामी नथपिएको र पुराना बिरामी निको हुँदै गएको उनले बताए। नयाँ बिरामी नदेखिएकाले प्रदेशबाट खटाइएको स्वास्थ्यकर्मीलाई फर्काइएको छ। गत माघ २३ गतेदेखि गुम्बा गाउँमा मौसमी रुघाखोकीको समस्या बढ्दै गएको थियो।

प्रमुख चापागाईंका अनुसार मौसमी रुघाखोकीका कारण त्यहाँ करीब साढे ३ सय जना स्थानीय बिरामी भएका थिए।

from:swasthyakhabar