२०७६, २ फाल्गुन: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा गर्ने तय भएको सम्बोधन स्थगन गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि आजको बैठकमा तय भएको कार्यतालिका प्रभावित भएको हो ।

क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो । शोक परेका बेला बैठकमा शोक प्रस्ताव पारित गरेर स्थगन गरिन्छ ।

सोहीअनुसार आज प्रतिनिधिसभाको बैठक उपाध्यायको निधनमा शोकप्रस्ताव पारित गर्दै स्थगित भएको छ । क्यान्सरबाट पीडित सांसद उपाध्यायको ५१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

केपी ओली नेतृत्वको सरकार गठन भएको २ वर्ष पुगेको अवसरमा आज प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिबारे प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची थियो । प्रधानमन्त्रीको सो सम्बोधनको कार्यसूची भोलिका लागि सरिएको संसद सचिवालयले जनाएको छ ।

आजका लागि तय भएको संसद बैठकको कार्यसूची भोलि बिहान ११ बजेका लागि सारिएको संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

यसैबीच, प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रका लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताउनु भएको छ । राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरूलाई आज ललितपुरमा दर्ज्यानी चिह्न प्रदान गदैं उहाँले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले समाज र राष्ट्र निर्माणमा युवाहरूलाई ध्यान केन्द्रित गर्न पनि गर्नुभयो । सर्वोत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा आफ्नोे मनोबल उच्च गराउन आवश्यक रहेको भन्दै उहाँले समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र पूरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरूको चौतर्फी व्यक्तित्व विकासमा हरसम्भव सहयोग गर्न कटिबद्ध रहेको बताउनुभयो ।

from:radionrn