सेयर दलाल उमेश रेग्मीका लागि आफ्नो भीमसेनगोलाको घरबाट बाहिर निस्कन बिदाको दिन नै पर्खनुपर्छ । नेपाल स्टक एक्सचेन्जमा शुक्रबार कारोबार हुँदैन । त्यसैले उनका लागि शुक्रबार पनि सार्वजनिक बिदाजस्तै हो ।

‘आइतबारदेखि बिहीवारसम्म त कामबाहेक केही सोच्नै भ्याइँदैन’ १९ नम्बर सेयर दलाल रेग्मी भन्छन् । आफ्नै घरमा अफिस खोलेका उनी सेयर दलालले काम पनि निकै धेरै गर्नुपर्ने र पैसा पनि राम्रै कमाइ हुने बताउँछन् ।

स्टक एक्सचेन्जमा कारोबार हुने दिन अर्थात् आइतबारदेखि बिहीवारसम्म हरेक दलालहरू बिहान उठेदेखि राति सुत्दासम्म १७–१८ घण्टा नै एक प्रकारको तनावमा रहन्छन् । ‘त्यो समयमा मेसिनजस्तै भएर काम गर्नुपर्छ, त्योबाहेक अरू कुरा सोच्ने फुर्सद पनि हुँदैन’ रेग्मीको यो भनाइसँग प्रायः सबैजसो सेयर दलालहरू सहमत देखिन्छन् ।

२०५२ सालदेखि दलालमार्फत कारोबार हुन थालेको नेपालको धितोपत्र बजारमा सुरुमा ३२ जना दलाल भए पनि हाल २३ जना मात्र सक्रिय छन् । २७ जना दलाल थप्नका लागि दुई वर्षभन्दा अगाडिदेखि सुरु भएको प्रक्रिया धितोपत्र र स्टक एक्सचेन्जको ढिलाइ तथा अदालतमा मुद्दा परेको आदि कारणले अलपत्र अवस्थामा छ ।

सेयर दलालहरूको काम गर्ने शैली प्रायः एउटै छ । बिहान उठेपछि आज कतिको कारोबार हुन्छ र त्यसबाट आफूलाई कति कमिसन आउँछ भन्ने कुराको लेखाजोखा गरेपछि ध्यान दैनिक कारोबारतर्फ उन्मुख हुन्छ ।

दलालहरूले कार्यालय नखुल्दै आफ्ना ठूला ग्राहकसँग अघिल्लो दिनको कारोबारको समीक्षा गर्दै त्यस दिनको कारोबारको सम्भावित अवस्थाको बारेमा कुरा गर्छन् । कतिले त त्यही बेला मौखिक रूपमा खरिद बिक्रीको अर्डरसमेत लिन्छन् । ‘कुनै बिहान त पूजा पनि राम्रोसँग गर्न पाइँदैन ।’ उनको भनाइ छ ।

from:abhiyandaily