चीनमा फैलिएको नोबेल कोरोना भाइरसको त्रासले त्यहाँ रहेका नेपालीहरु छटपटाइरहेका बेला उनीहरुको उद्दारका लागि नेपाल सरकार उदासिन भएको छ । चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रयास भइरहेको बताए पनि सरकारले उद्धारका लागि ठोस पहल गर्न नसकेको हो ।

सरकारको उदासिनताका कारण आफूहरुलाई झनै संकट आइलागेको चीनमा रहेका नेपालीहरुले बताएका छन् । उनीहरुले झण्डै तीनसातादेखि कोठाबाट बाहिर पनि निस्कन नसकेको र खानेपानी पनि रित्तिएकाले तत्काल आफूहरुलाई उद्दार गरेर ज्यान जोगाउन सरकारसँग आग्रह गरेका छन् ।

चीनमा रहेका नेपालीहरुले आफूहरुको ज्यान खतरामा रहेको बताएपछि नेपालमा रहेका उनीहरुका आफन्तहरु थप बेचैन भएका छन् । उनीहरुले आफ्ना सन्तान तथा आफन्तहरुलाई तत्काल उद्दार गरिदिन आग्रह गरेका छन् । चीनमा रहेका नेपालीहरुमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि यदि संक्रमित भएर ज्यान गइहाले कसले जिम्मा लिने ? चीनमा रहेका नेपालीका आफन्तको सरकारलाई प्रश्न छ ।

सरकारले अहिलेसम्म चीनमा रहेका सबै नेपालीहरु कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहेको दाबी गरेको छ । तर आक्रमक रुपमा फैलिरहेको कोरोना संक्रमणको त्रासले त्यहाँ रहेका नेपालीहरुमा मानसिक समस्या समेत उत्पन्न हुने खतरा रहेकोले तत्काल उद्धार गर्न आफन्तहरुले सरकारलाई दबाब दिएका छन् ।

चीनमा रहेका नेपाली र उनीहरुका आफन्तले ज्यान जोगाइदिन आग्रह गरे पनि सरकारले आवश्यक पर्याप्त कामहरु समयमै गर्न सकेको छैन । सरकारले नेपालीहरुलाई स्वदेश ल्याउने तयारी भइरहेको बताएको पनि धेरै समय भइसक्यो । उनीहरुलाई नेपाल ल्याएर राख्ने ठाउँको व्यवस्थापन गर्न सरकारले ढिलो गरिरहेको आरोप लागेको छ ।

यसबारे बुझ्न खोज्न हामीले स्वास्थ्य मन्त्रलायका सचिव खगराज बराललाई फोन गर्दा जानकारी दिनका लागि प्रोटोकल नमिल्ने जवाफ दिनुभयो । त्यसपछि मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठलाई फोन गर्दा उहाँले आफू बिदामा रहेको बताउनुभयो । सहप्रवक्ता सागर दाहालले केहीबेरमा प्रतिक्रिया दिने बताएर त्यसपछि फोन उठाउनुभएन ।

मन्त्रालयका सचिव, प्रवक्ता र सहप्रवक्तासँग जवाफ नपाएपछि हामीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई फोन ग¥यौँ । तर उहाँले पनि यसबारे प्रवक्ताले नै जानकारी दिने जवाफ फर्काउनुभयो । प्रवक्ताहरुको फोन नउठेकोबारे जानकारी गराउँदा पनि उहाँले कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन भइरहेको प्रयासबारे बताउन इन्कार गर्नुभयो ।

स्वदेशमा ल्याएर राख्ने प्रबन्ध भइनसकेका कारण चीनमा रहेका नेपालीहरुको उद्दारमा ढिलाइ भइरहेको बताइन्छ । चीनस्थित नेपाली दूतावासले नेपाल फर्कने चाहने नेपालीहरुलाई फाराम भर्न लगाएको पनि हप्ता दिन हुन थालेको छ । तर उनीहरुलाई कहिले नेपाल ल्याइन्छ भन्ने केही टुंगो छैन । यसबारे बुझ्न खोज्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले फोन काटिदिनुभयो ।

चीनमा रहेका आफ्ना नागरिकहरुलाई विश्वका विभिन्न मुलुकले आफ्नो देश फर्काइसकेको छ । तर नेपाल सरकार यति गैरजिम्मेबार भयो कि जनतालाई कोरोना भाइरसको प्रकोपबाट बच्न भइरहेका प्रयासबारे जानकारी गराउन समेत आनाकानी भइरहेको छ ।

from:radionrn