१५ देशमा फैलियो कोरोना- १७० को मृत्यु, ७ हजार ७ सय संक्रमित (कुन देशमा कति)

कोरोना भाइरसको संक्रमण विश्वका १५ देशमा देखिएको छ। यो भाइरसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ। चीनमा हालसम्म यो भाइरसका कारण १७० जनाको ज्यान गइसकेको छ भने ७ हजार ७ सय ११ जना संक्रमित भएका छन्।

सबैभन्दा पहिला यो भाइरस चीनमा नै देखिएको थियो। चिनको उहान सहरमा देखिएको भाइरसको संक्रमण नेपालमा समेत आइपुगेको छ। चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा उक्त भाइरस भेटिएको पुष्टि समेत भइसकेको छ। भाइरसको आशंकामा केहीको नमुना परीक्षण गरिएको छ।
उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

भाइरसको संक्रमण चीनपछि सबैभन्दा बढी थाइल्यान्डमा भेटिएको छ। थाइल्यान्डका १४ जनामा यो भाइरसको संक्रमण भेटिएको पुष्टि भइसकेको छ।

यी हुन् कोरोना भाइरसको संक्रमण फेला परेका १५ देश र संक्रमित संख्या
चीन- ७७११
थाइल्यान्ड- १४
अष्ट्रेलिया- ७
सिंगापुर- ७
जापान- ७
कोरिया- ४
भियतनाम- २
मलेसिया- ४
फ्रान्स- ४
अमेरिका- ५
जर्मनी – ४
युएई- ४
कम्बोडिया- १
श्रीलंका – १
नेपाल- १
जम्मा- ७७७९
मृत्यु- १७०

यो पनि
१. नोवेल कोरोना भाइरस भनेको के हो?
यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरुमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भिर प्रकारको तीव्र श्वासप्रस्वास सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)सम्म गराउन सक्दछ।

२. के मानिसमा जनावरहरुबाट नोवेल कोरोना भाइसर संक्रमित हुन सक्दछ?
नोवेल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हाल छैन।

३. के नोवेल कोरोना भाइरस र सार्स एउटै हुन्?
सन् २००३ मा देखिएको सार्स र नोवेल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्दछन्। सबैभन्दा महत्वपूर्ण कुरा, नोवेल कोरोना भाइरस मानिसहरुबीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टि भएको छैन।

४. मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ?
मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने विषयमा आजसम्म वैज्ञानिक तवरले पुष्टि भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ।

५. के यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दछ?
अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन। एउटै परिवारका सदस्यहरु बिरामी भएको पाइएकोले मानव–मानवबीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ। तर, अझै मानिसहरुबीच सहजै सरेको हो भनेर पुष्टि भने भएको छैन। साथै परिवारका सदस्यहरु एकै स्रोतबाट संक्रमण भएको हुनसक्ने सम्भावना पनि रहेको छ।

६. यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ?
सामान्यतया यस भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन। तथापी रुघा, खोकी तथा श्वासप्रस्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ।

७. नोवेल कोरोना भाइरसका मुख्य लक्षण के हुन्?
ज्वरो आउने, श्वासप्रस्वासमा अत्याधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ। कोरोना भाइसर प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिएका तुरुन्त चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ।

८. नोवेल कोरोना भाइरस लाग्नै नदिन के गर्ने?
नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु÷अन्डा राम्रोसँग पाकेको मात्र खाने।

९. के कोरोना भाइरसको लागि उपचार छ?
नोवेल कोरोनाभाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन। यद्यपी यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार गर्न सकिन्छ। त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ। साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन।

-(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार