खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना सार्वजनिक

२०७६, १२ माघ: खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने पूर्व सैनिक बच्चुराम गुरुङबाट ५० लाख लुटेर फरार भएका ६ जना लुटेरालाई प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दाङ पुरन्धारा वडा ९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउपालिका ६ कटजुनका ३०
वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउपालिलका ५ गोलजुङका ३८ वर्षे दावाछिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका वडा ९
का ३६ वर्षे कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका वडा ३ खड्कुका ३६ वर्षे तेन्जिङबहादुर तामाङ र रसुवा उत्तरगया गाउँपालिका वडा २ खड्कुका २८ वर्षे संजित वाइबा रहेका छन्।

उनीहरुले शुक्रवार बिहान ९ बजेतिर चम्किने ढुुङगा किन्ने भन्दै काभ्रेस्थली पुगेका गुरुङको पैसा लुटेका थिए। शुक्रवार बिहान लुटेको पैसाबाट लुटेराहरुले २४ घन्टाभित्रै पल्सर बाइक, ७७ हजार रुपैयाँको औंठी किनेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरुले आफूले ऋण लिएको फाइनान्सको किस्तासमेत तिर्न भ्याएको खुलेको महनगरीय अपराध महाशाखा टेकुका एसपी मुकेश कुमार सिंहले बताउनुभयो । लुटेराले बच्चुरामलाई खुकुरी, फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर लुटेको खुलेको छ।

नेपाली सेनाका पूर्व सुवेदार गुरुङ शुक्रवार काभ्रेस्थलीको जंगलमा लुटिएका थिए। लुटेराको साथबाट प्रहरीले १८ लाख ७५ हजार ५ सय रुपैयाँ, १ थान नयाँ मोटरसाइकल, ३ थान लुट्न प्रयोग गरिएको मोटर साइकल, सुनको औंठी र मोबाइलहरु बरामद गरेको छ। गुरुङले आफ्नो घर धितोमा राखेर उक्त रकम निकालेको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार