२०७६, ६ माघ सोमबार : प्रतिनिधिसभामा माघ १२ गते सभामुखको निर्वाचन हुने भएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने दलहरुबीच सहमति भएको हो । १२ गते सभामुखको निर्वाच्न

गर्ने सहमति भएको समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । यौन दुव्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यसैबीच, सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिपक्ष कांग्रेस लगायत अन्य दलले भने सभामुखको उम्मदवार छनौट गरिसकेको छैन । कांग्रेसबाट सभामुखका लागि पुष्प भुसाललाई अघि सार्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

यस्तो छ सभामुख निर्वाचनको कार्यतालिका

माघ १२ गते हुने सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार माघ ७ गते बिहान ११ बजेदेखि २ बजेसम्म सभामुखका लागि उमेदवारी दर्ता गर्ने समय दिइएको छ ।

सोही दिन साढे २ बजे दर्ता भएका उमेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिनेछ । माघ १२ गते दिउँसो ३ बजे उमेदवारीको प्रस्तावलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

(radionen)