पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजदेखि मौसममा क्रमिक सुधार आउने मौसमविदहरुको भनाइ छ ।काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

यसैबीच महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर आज देशभार सामान्यदेखि पूर्ण बदली रहने तथा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमताको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।