पाँचथर माघ १ । माघे संक्रान्ति पर्व आज मनाईंदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले अबदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुईंचो लागेको छ । तराईका बासिन्दाले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिमा घ्यु, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यि परिकारले जाडोमा न्यानो र उर्जा दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

यस्तै थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ ।

माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने गरिन्छ ।

आजै राष्ट्रिय योग दिवस
वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बन्न लकेको परिपेक्षमा यही क्षेत्रबाट पुनर्जागरण गर्न जनचेतना जगाउने काम स्वरुप नेपाल सरकारले राष्ट्रिय योग दिवस घोषणा मनाउना थालेको हो।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

शिक्षा मन्त्रालय र विज्ञान तथा प्रबिधि मन्त्रालय गाभिएर ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ भए संगै यो दिवसलै यसै मन्त्रालयले मूल समारोह समिति बनाई २०७२ साल देखि देशका विभिन्न स्थानमा रहेका योग विज्ञान तथा साधनामा काम गरिरहेका वविभिन्न संघसस्थासंग सहकार्यमार्फत विभिन्न कार्यक्रमहरु गर्दै मनाउदै आइरहेको छ। नेपालले २०७६ मा छैठौं राष्ट्रिय योग दिवस मनाउदै छ ।

नेपालभर योग सिकाउने हालसम्म अरिब ६०० संस्था छन् । यी संस्थामा योग अभ्यास गर्न आउने प्रायः विदेशी छन् । नेपालको पहाडी र हिमाली भेगको मध्यभागमा योग एवम् ध्यान केन्द्र स्थापना गरी प्रचारप्रसार गर्नसके योग पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

अहिले नेपालमा योग पर्यटनको एउटा अभिन्न हिस्स बन्दै गैरहेको छ। नेपाल सरकारले उचित ध्यान दिएर लगानी गरेको खण्डमा नेपालमा योग पर्यटनको प्रचुर सम्भावना देखिन्छ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ ।

इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवम् साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ ।

उत्तरायण आरम्भ
वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ति दुई परिवर्तनलाई “उत्तरायण र दक्षिणायन” भनेर बुझिन्छ। ६ -६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य कर्कट राशी देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।

उत्तरायणको अवधिमा सुर्यको परिक्रमा मार्ग बिस्तारै उत्तरतर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार उत्तरायणलाई सकारात्मकता तथा दक्षिणायनलाई नकारात्मकताको प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरुको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरुको एक रात।

पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरुले मोक्ष प्राप्त गर्छन भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरुले पुनर्जन्म लिनु पर्छ, यसैकारण पनि सुर्यको यी दुई स्थितिलाई मानिसहरुको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।

उत्तरायणको बेला दिनहरु लामो र रातहरु छोटो हुने गर्दछन् । उत्तरायणमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिन्छ। सबैको भलो होस्।