सरकारले सुशासन कायम गर्ने दाबी गरेपनि भ्रष्टाचार दिनप्रतिदिन बढ्दै जाँदा मुलुकनै खोक्रो बन्न लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपतिलाई बुझाएको २९ औं प्रतिवेदनले पनि नेपालमा भ्रष्टाचारको क्रम अझै बढेको देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयार पारेको २९औं बार्षिक प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढ्दै गएको देखाएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६मा आयोगमा १४ हजार १ सय ७१ र मातहत कार्यालयबाट ९ हजार ९ सय १४ गरी कुल २४ हजार ८५ उजुरीहरू परेका छन् ।

जसमध्ये ७ हजार ८८ उजुरी अघिल्लो आर्थिक वर्षमा फस्र्यौट हुन नसकेका छन् । १६ हजार ९ सय ९७ उजुरीहरू आर्थिक वर्ष २०७५/७६ मा थप भएको आयोगले जनाएको छ ।

चालु आर्थिक बर्षको पौष महिनासम्म थप ५ हजार ९ सय ७० भ्रष्टाचारका उजुरी परेका छन् । योसँगै अख्तियारम १४ हजार ५ सय २८ उजुरीका चाङ छन् । फर्छ्यौट भएका उजुरीहरूमध्ये ८ सय ८१ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको आयोगले जनाएको छ।

विस्तृत अनुसन्धानबाट ६ सय ५३ वटा कारबाही भएका छन् जसमध्ये ३ सय ५१ मुद्दा आयोगले विशेष अदालतमा दायर गरेको छ भने ४ अर्ब ५ करोड ३७ लाख रुपैँया बिगो मागबादी लिईएको छ । स्थापनाको २९ बर्षे इतिहासमा सवैभन्दा धेरै मुद्धा दर्ता भएको र पूर्ण तथा आशिंक सफलता मिलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा विभिन्न मन्त्रालय तथा विषयगत उजुरीहरूको संख्या हेर्दा संघीय मामिलासँग सबैभन्दा धेरै २६ दशमलव आठ सात प्रतिशत छ । त्यस्तै नक्कली शैक्षिक प्रमाणपत्र, गैरकानूनी सम्पत्ति आर्जन, राजस्व हिनामिनालगायतका उजुरीको संख्या धेरै छ ।

त्यसमा पनि नीतिगत भ्रष्टाचारले देशको अवस्था दयनीय बनाएको जानकारहरु बताउँछन् । यसरी प्रत्येक बर्ष भ्रष्टाचार बढ्दै जानुमा सरकारको नीतिगत सुधार नहुनु नै मुख्य कारण रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष श्रीहरी अर्यालले बताए ।

घुस लिने र दिने दुवै देशका सत्रु हुन् । यो सबैले बुझ्न जरुरी छ । अनि भ्रष्टाचार गर्नेलाई हुने कारबाही फेरि नदोहोरिने र अर्कोले पनि सम्झिने खालको हुनुपर्छ । कार्यान्वयनमा लैजानुपर्छ ।

सरकार तथा राजनीतिक दलको छत्रछाया रहुञ्जेल भ्रष्टाचार नियन्त्रण अभियान नारामा सीमित हुन्छ । त्यसैले आजैदेखि भ्रष्टाचार शुन्य सहनसिलता अपनाउँदै भ्रष्ट नागरिकलाई समाजबाट बहिष्कार गर्ने अभ्यास गर्न सके देशले काँचुली फेर्ने निश्चित छ ।

(stv)