२०७६, २९ पुष: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय राजनीतिमा जटिलता देखा परेको बताउनु भएको छ ।

आज चितवनको माडीमा आयोजित प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपालको केन्द्रीय राजनीतिमा जटिलता देखापरेको र आफूहरु त्यो जटिलता चिरेर अगाडि बढ्ने विश्वासमा रहेको बताउनुभयो ।

केन्द्रीय राजनीतिमा कहिलेकाहीँ अलिअलि जटिलता देखिने गरेको भन्दै उहाँले त्यो जटिलता चाहिँ के हो भन्नेबारे खुलाउनु भएन । तर, सभामुख चयन र एमसीसीलाई लिएर पछिल्लोपटक नेकपामा देखिएको विवादलाई उहाँले संकेत गरेको बुझ्न सकिन्छ ।

पार्टीभित्र आन्तरिक विवादका कारण नेकपाले सभामुखमा उम्मेदवारी दिने भने पनि अहिलेसम्म उम्मेदवार चयन गर्न सकेको छैन ।

केन्द्रीय राजनीतिमा देखिएका जटिलतामाथिको छलफललाई थाँती राखेर आफू माडी आएको र यहाँबाट फर्किएपछि लगातार छलफलमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

(radionrn)