२०७६, २४ पुष: एउटा नेपाली हेलिकप्टर भारतिय सुरक्षा बल एसएसबीको क्याम्प माथि उडेपछि भारतमा हल्लीखल्ली मच्चिएको छ । गत सोमबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भुजेला क्षेत्रमा उडेको सो हेलिकप्टरका कारण भारतमा हल्लीखल्ली भएको हो ।

हरियो रङको उक्त हेलिकप्टर भुजेला गाउँ हुँदै बनबासा क्षेत्रमा पुगेको भारतीय अखबार ‘अमर उजाला’ले जनाएको छ । शारदा ब्यारेज र एसएसबी क्याम्पमाथि केही बेर उडेर सो हेलिकप्टर नेपालतर्फ फर्किएको बताइएको छ ।

भारतीय सुरक्षा एजेन्सीहरुले यस सम्बन्धमा उच्च अधिकारीहरुलाई जानकारी गराएको र नेपालसँग पनि जानकारी माग गरिएको बताइएको छ।

भारतीय सुरक्षा एजेन्सीहरुले उक्त हेलिकप्टरबारे जानकारी जुटाउनका लागि गुप्तचरलाई समेत परिचालन गरेको उक्त अखबारको दावी छ । उक्त हेलिकप्टर आफ्नो वायुक्षेत्रमा प्रवेश गरेको र सुरक्षा निकायको क्याम्पमाथि उडेको भन्दै पूर्व जानकारीविना यसरी आउनुको कारण पत्ता लगाउन भारतीय अधिकारीले मातहतका निकायलाई निर्देशन दिएको बताइएको छ ।

(radionrn)