२३ मंसिर सोमबार: बाँकेस्थित कोहलपुर नगरपालिका–११ की १२ वर्षिया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि तनावग्रस्त रहेको कोहलपुरका सबै विद्यालय आज बन्द छन् ।

प्रहरी र विद्यार्थी बीच झडप हुँदा हिजो ४० भन्दा बढी घाइते भएपछि प्रशासनले कर्फ्यू नै लगाउनुपरेको थियो । अहिले स्थीति सामान्य रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका साहयक प्रमुख कृष्णकान्त उपाध्यायले अहिले पनि कोहलपुरमा घटना भएको स्थल वरिपरि निषेधित क्षेत्र घोषणा गरिएको र फेरी पनि प्रदर्शन भए कर्फ्यू लाग्न सक्ने जानकारी दिनुभएको छ ।

यसैगरी, बाँकेको कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । हिजो कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरका छन् ।

उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् । हिजो बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज(कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलीकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।

(radionrn)