भोली हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आग्रह गरेको छ। आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पुरा भएको जनाएको छ।

उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरुले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटो सहितको कुनैपनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागि हुने वातावरण बनेको बताए।

उनले उपनिर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय पर्यवेक्षण संस्थाहरुले अनुमति पाइसकेको र नेपाल स्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई समेत अनुमति प्रदान गरिएको बताए। त्यस्तै आयोगमा मिडिया अनुगमन इकाई स्थापना भई अनुगमनको काम भइरहेको समेत उनले बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीहरु सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुर्याइसकेको समेत जानकारी दिए।

उनले ३७ जिल्लामा २ सय ४७ मतदान स्थल तथा ५ सय ३७ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षकर्मीहरु आवश्यक मतदान सामग्रीहरुसहित गत बुधबार साँझ नै पुगिसकेको समेत जानकारी दिए।

उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १ जना, प्रदेश सभा सदस्यतर्फ ३ जना, उपमहानगरपालिका प्रमुख १ जना, गाउँपालिका अध्यक्षका लागि ३ जना, गाउँपालिका उपाध्यक्षका लागि १ जना र स्थानीय तह सदस्य तर्फ ४३ गरी कुल ५२ रिक्त पदमा निर्वाचन हुँदै छ।a

प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरु सहभागी भएका छन्। निर्वाचनमा २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्दै छन्।

(radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार