सत्याग्रही नन्दप्रसाद अधिकारीको निधन भएको आज पाँच बर्ष वितेको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन बसिरहेकै बेला पाँच बर्ष अगाडी उहाँको निधन भएको थियो ।

आफ्ना छोरालाई तत्कालिन नेकपा माओवादीका नेताहरुले हत्या गरेको भन्दै किटानी जाहेरी दिदा पनि कारबाही नभएपछि उहाँ पटक पटक आमरण अनसनमा बस्नु भएको थियो ।

पछिल्लो पटक आमरण अनसन बसेको ३३४ औ दिनमा उहाँको निधन भएको थियो । उहाँको अहिलेसम्म पनि अन्त्यष्टि गरिएको छैन । अनसनकै क्रममा निधन भएपछि पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको उहाँको शव अहिलेपनि त्यही नै रहेको छ ।

आफुहरुको माग पुरा नभएसम्म श्रीमानको अन्त्यष्टि नगर्ने उहाँकी श्रीमती गंगामायाको अडानका कारण श्रीमान नन्दप्रसादको अन्त्यष्टि नभएको हो । नन्दप्रसादसँगै उहाँकी श्रीमती गंगामाया पनि आमरण अनसन बस्नु भएको थियो । उहाँको अनसन अहिलेसम्म पनि जारी रहेको छ ।

न्यायका लागि भन्दै पटकपटक अनशन बस्दै आएकी गंगामायाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । श्रीमान् र छोरा गुमाएको वर्षौ बित्दापनि आफूले न्याय पाउन नसकेको गुनासो गर्दै उहाँले नेपालमा न्याय पाउने आशा मरेकाले अव अन्तर्रा्ष्ट्रिय अदालतको ढोका ढकढकाउने तयारीमा रहेको बताउनु भएको छ ।

radioNRN बाट