भदौ २१ । झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

‘पीडित महिलालाई ज्वरो आएको रहेछ’, इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले भने ‘उनीहरु (कुमारी र दिनेश)ले बोक्सी लागेको छ भन्दै यातना दिएको पाइयो ।’ व्यक्तिगत रिसिइबीले पनि यातना दिइएको उउनले बताए ।

दर्जीले गत १९ गते रातको १०ः४५ बजे पीडित महिलालाई बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेका थिए । पीडित महिलाले प्रहरीमा जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए। पीडकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

पानीमा डुबेर तीन जनाको मृत्यु

दाङमा पानीमा डुबेर शनिबार तीन जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार घोराही उपमहानगरपालिका–७ राजपुरकी एक बालिकाको कुलोमा डुबेर मृत्यु भएको हो ।

एक वर्षीया बालिका खेल्ने क्रममा कुलोमा डुबेको थाहा पाएपछि परिवारले उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको केही समयपछि नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै तुलसीपुर उपमहानगरपालिका–८ गोतेखोलामा माछा मार्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । सल्यान कपुरकोट गाउँपालिका–५ घर भई तुलसीपुर कटरकुइयामा बङ्गुरपालन गर्दै आएका २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भई सोही ठाउँमा बस्दै आएका २६ वर्षीय मिलन लामा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

(रासस)