भदौ २० – बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ।सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए।

तर, ती महिलाले दुवै पुरुषलाई चिनेकी थिइन् भने उनले राति स्थानीय विभिन्न व्यक्तिलाई घटनाबारे जानकारी गराउँदै भोलिपल्ट आफूलाई सामूहिक बलात्कारको प्रयास गर्न खोजेका स्थानीयवासी जासिम नदाफ र नसिर नदाफमाथि प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन्।

पीडित महिलाको निवेदनपश्चात स्थानीय राजनीतिकर्मी, भद्रभलाद्मीलगायतकाले गाउँको कुरो गाउँमै मिलाउनुपर्छ भन्दै बिहीबार प्रहरी चौकी मगरथानामा पञ्चायत बसेका थिए।छलफलका क्रममा पीडित र पीडकका पक्षधरबीच झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो।झडपमा दुवै पक्षका व्यक्तिमाथि सामान्य हातपात भएको थियो।

नीलकण्ठमा ग्यास सिलिण्डर पड्कँदा चार घर जलेर नष्ट

विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो ।

ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएको उद्धारमा संलग्न राजकुमार भण्डारीले बताउनुभयो । यससँगै रहेका अन्य दुई घरमा पनि आंशिक क्षति पुगेको छ ।

वृद्धवृद्धा मात्र बस्ने घरमा ग्यास चुहावट भई आगलागी भएको र सोही ग्यास सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।

(रासस)