कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको उपचारमा डा विनय रेग्मीसहितको टोली संलग्न छ । मङ्गलबार राति एक्कासि ज्वारो आएपछि उपचारका लागि पुल्चोकस्थित बुधबार बिहान पुल्चोकस्थित निदान अस्पताल जानुभएको थियो ।

उपचारका क्रममा रगत परीक्षण गर्दा सो रोग प्रमाणित भएको मन्त्री खनालका सञ्चार विज्ञ बोमलाल गिरीले जानकारी दिनुभयो । टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रगत परीक्षण गरिएको थियो ।

सरुवा रोग अस्पतालमा श्ययाको अभाव भएपछि निदान अस्पतालबाट ग्राण्डी अस्पतालमा मन्त्री खनालको थप उपचार भइरहेको जनाइएको छ । विज्ञ गिरीले भन्नुभयो, “टेकु अस्पतालमा श्यया अभाव भएपछि ग्राण्डी अस्पतालमा मन्त्री खनालको उपचार भइराखेको हो, उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।”

मङ्गलबार दिउँसो मन्त्रालयको काममा व्यस्त हुँदा मन्त्री खनालले असजिलो महसुस गर्नुभएको थियो । सोही दिन उहाँ मन्त्रालयको तीनवटा औपचारिक कार्यक्रम तथा बैठकमा सहभागी हुनुभएको सञ्चार विज्ञ गिरीले बताउनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र डेङ्गु रोगको उच्च जोखिम देखिएको छ ।

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु

डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेङ्गु भएको भन्दै काठमाडौँ लैजान सुझाव दिइएको थियो ।

परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पु¥याएको हो । अस्पतालले डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको प्रमाणित गरेको इन्द्रावती गाउँपालिका–१२ का अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिनुभयो ।

अस्पतालले दनुवारको मृत्यु डेङ्गुकै कारणले भएको प्रमाणित गरेपछि भिमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाउँवासीमा डेङ्गुको थप सङ्क्रमण हुन सक्ने र त्यसलाई रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिनुभयो ।

(रासस)