भदौ १९ । नेकपा निकट युवा सङ्घ नेपाल झापास्थित शिवसताक्षी नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि बुधबार छुरा प्रहार भएको छ ।झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा वडाध्यक्षसँग कुरा गरिरहेका युवा सङ्घका नगर अध्यक्ष राईमाथि छुरा प्रहार भएको हो । प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राईमाथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए ।

घाइते राईको बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष केहरसिंह बस्नेतले अध्यक्ष राईसँग मेरो समसामयिक विषयमा कुरा भइरहेको बेला अचानक सागर आएर दाहिने तर्फको कोखामा दुई पटक छुरा हानेको बताए ।

छुरा प्रहारबाट घाइते राई खतरामुक्त रहेको बी एन्ड सी अस्पताल बिर्तामोडले जनाएको छ । छुरा प्रहार के कारणले भयो भन्नेबारेमा केही खुल्न सकेको छैन । तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले तत्कालै गिरफ्तार गरेको छ ।

यसैबीच युवा सङ्घ झापाले अध्यक्ष राईमाथि भएको आक्रमणको भत्र्सना गर्दै कारवाहीको माग गरेको छ । युवा सङ्घका जिल्ला अध्यक्ष शम्भु भण्डारीले आज विज्ञप्ति निकालेर अध्यक्ष राईमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै आक्रमणमा संलग्नलाई हदैसम्मको सजाय दिन माग गरेका छन् ।

रासस