कुकुर मारेको आरोपमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालविरूद्ध उजुरी परेको छ। निर्मम तरिकाले कुकुर मारेको भन्दै मेयर रिजालसहित नगरपालिकाका तीन कर्मचारीविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो।

पशु प्राविधिक सुमन श्रेष्ठ, खोटाङस्थित जन्तेढुंगा गाउँपालिकाका बजिन्द्र विष्ट, नेपाल भेटेरेनरी एशोसिएसनका तर्फबाट पशु चिकित्सक सीताराम यादवले मेयर रिजाल र नगरपालिकाका कर्मचारीविरूद्ध उजुरी दिएका हुन्।

‘निर्मम तरिकाले कुकुरलाई मारेको भन्दै निवेदन आएको छ,’ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोद खेरवारले सेतोपाटीसँग भने, ‘निवेदनमाथि अनुसन्धान सुरू गरिएको छ।’मुलुकी अपराध संहिता विपरीत मेयरकै निर्देशनमा नगरपालिकाले कुकुर मारेको भन्दै आवश्यक कारवाहीको माग गर्दै उजुरी परेको हो।

मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपंक्षीसम्बन्धी कसुरको दफा २९० (१) र दफा २९१ (१) बमोजिम कसुर अपराधमा संलग्न भएको उजुरीमा उल्लेख छ।

उक्त दफामा कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न नहुने व्यवस्था गरिएको छ।

पशुपक्षीलाई यस्तो व्यवहार गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था छ।

गत शनिबार नगरपालिकाभित्र कुकुरलाई अमानवीय ढंगले मारेको भन्दै भिडिओ भाइरल भएको थियो। सडकमा रहेका कुकुरलाई टाउको र खुट्टामा लाठाले हानेर मारिएको भन्दै नगरपालिकाविरूद्ध सामाजिक सञ्जालमा पनि विरोध भएको छ।

सार्वजनिक स्थलमा निर्मम तरिकाले कुकुर मार्न लगाएको र कुटपिट गरी अचेत अवस्थामा जिउँदै खाडलमा पुरेको भन्दै कारबाही हुनुपर्ने माग गरिएको छ।

सेताेपाटी बाट